काठमाण्डौ । श्रमको खोजीमा विद्यार्थी भिसामा रुस पुगेका १५० नेपाली युवा मस्कोमा बिचल्लीमा परेका छन्। विश्वविद्यालयमा पढ्दै काम गर्ने सपना बोकेर रुस गएका यी युवाहरूको न पढाइ छ, न काम। कक्षा लिन नसक्दा उनीहरूको भिसा पनि नवीकरण हुन सकेको छैन। दलालहरू मार्फत भिसा नवीकरण गर्न प्रयास गर्दा झनै ठगीमा परेका छन्।
ती विद्यार्थीहरूले भिसा नवीकरणको लागि दलालहरूलाई ३ करोड ५० लाख रुपैयाँ भन्दा बढी रकम तिरेका थिए। तर, दलालहरू फरार भएका छन्। मस्कोमा रहेका सप्तरीका जीवस यादवले दलालबाट ठगिएपछि आफूहरू एकाएक सडकमा आइपुगेको बताए।
गोरखाका सुजन मगरले सुरुमा १० लाख रुपैयाँ तिरेर रुस पुगे पनि, कन्सल्टेन्सीले भनेको जस्तो पढाइ र काम एकसाथ सम्भव नभएको बताए। कामको चाप र पढाइको समय व्यवस्थापन गर्न नसक्दा विद्यार्थीहरू आर्थिक र शारीरिक संकटमा परेका छन्।
नेपालगन्जकी सुनदेवी शाहीको भिसा सकिएपछि उनीहरू भिसा थप्न नसक्ने अवस्थामा पुगेका छन्। शाहीले दलाललाई भिसा नवीकरणका लागि दिएको रकमसमेत गुमाएकी छिन्।
पीडित विद्यार्थीहरूले नेपाली दूतावासमा दलालहरूविरुद्ध कारबाहीको माग गर्दै भिसा सहजीकरणको अनुरोध गरेका छन्। दूतावासले अधिकांश विद्यार्थीलाई स्वदेश फर्किनु नै उत्तम विकल्प भएको बताएको छ।
गैरआवासीय नेपाली संघ रुसका महासचिव मिलन कट्टेलले नेपालका एजेन्टहरूले रुसमा रोजगारको सपना देखाएर विद्यार्थी पठाउने र उनीहरूलाई समस्यामा पार्ने गरेको खुलासा गरेका छन्। यस्ता विद्यार्थीहरूकै कारण रुसी सेनामा भर्ती हुने क्रम पनि बढिरहेको छ। आजको कान्तिपुर दैनिकबाट