काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर औसत स्थानको दक्षिणतिर र पूर्वतिर औसत स्थानको आसपासमा अवस्थित छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, मधेश, र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेको स्थानहरूमा गेग्रान बहाव, बाढी, पहिरो, तथा भू-क्षय जस्ता प्रकोपहरूको जोखिम वा क्षतिबाट जोगिन सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। बागमती, लुम्बिनी, र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ।