कालिका मौरी पकेट किसानलाई उपकरण हस्तान्तरण

कमल राज ढकाल । चितवनको कालिका नगरपालिकाले मैरीपालक किसानलाई उपकरण वितरण गरेको छ । मौरी पकेट क्षेत्र कार्यक्रममा समावेश भएका किसानहरुलाई अफ सिजनको बेला मौरी जोगाउन चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको छ ।

कालिका नगरपालिकामा महको उत्पादन बढाउन र किसानलाई सोही पेशामा आत्मनिर्भर बनाउन मौरी पकेट क्षेत्र कार्यक्रम घोषणा गरी प्रर्बधनका कार्यक्रम सञ्चालन गरिएको छ । पकेट क्षेत्र कार्यक्रममा १देखि ८ वडा मा समावेश भएका ६३ जना किसानलाई ५० प्रतिशत अनुदानमा चिनी सहित घार तथा अन्य उपकरणका सामाग्री प्रदान गरिएको नगरपालिकाका कृषि विकास अधिकृत लक्ष्मण पौडेलले जानकारी दिए ।

वडा नं ६ को कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रममा ६३ जना किसानलाई ११९ बोरा चिनी, २८० वटा मौरीको घार र ४०० वटा चिनी खुवाउने फिडर वितरण गरिएको उनले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथी मेयर विनोद रेग्मी र मौरी पकेट क्षेत्र सञ्चालन समितिका अध्यक्ष तेजप्रसाद लामिछानेले उपकरण सामाग्री हस्तान्तरण गरेका थिए । सो अबसरमा मेयर रेग्मीले कालिकामा मह उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत पकेट क्षेत्र घोषणा गरी किसानको हितमा काम गरिएको बताए ।

पशुपालक किसानलाई दुध र घाँसमा अनुदान तथा पुरस्कार प्रदान गर्दै आएको सो नगरपालिकाले मौरीपालक किसानलाई मौरी सहितको घार तथा उपकरण प्रदान गर्दै आएको उनले बताए । किसानहरुलाई उत्पादन लागत घटाउन आवश्यक पर्ने सबै सामाग्री हामी उपलब्ध गराउछौं मेयर रेग्मीले भने यसको उद्देश्य कालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने हो ।

प्रमुख प्रशासकीय अधिकृत केशबप्रसाद उपाध्यायले किसानले प्रतिफल प्राप्त गर्ने गरी कालिकाले प्रर्बधनात्मक कार्यक्रम गरिरहेको बताए । वडा जं ६ का वडाध्यक्ष टीकाराम रेग्मीले पशुपालक र मौरीपालक किसानहरुलाई पेशाप्रति प्रतिबद्ध बनाउन र उत्पादन बढाउन प्रतिबद्ध रहेको बताए । कार्यक्रममा सेवा निबृत्त नगरपालिकाका कृषि विकास अधिकृत शिवराज पौडेललाई मौरी पकेट क्षेत्र कार्यक्रमको तर्फबाट सम्मान गरिएको थियो । मह उत्पादन र पकेट क्षेत्र घोषणा गर्न भूमिका खेलेको भन्दै पौडेललाई सम्मान गरिएको हो ।

कालिका नगरपालिका भित्र १२५ जना किसानले व्यवसायिक रुपमा मौरीपालन गर्दै आएका छन् । ६ हजार ५०० घार मौरी रहेको कालिकामा बार्षिक २५० टन मल उत्पादन हुँदै आएको छ । वडा नं १ देखि ८ सम्मका ६३ जना किसानलाई आबद्ध गरी मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ ।

गत जेठ महिनाबाट कालिकामा मौरी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको हो । कालिका मौरी पकेट क्षेत्र कार्यक्रमका अध्यक्ष तेजप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन हुमागाईले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया