रामेछापको दोरम्वा शैलुङ्ग गाउँपालिका–३ टोकरपुरस्थित लेखर्क पहरीगाउँमा आज बिहान ३:४५ बजे गएको पहिरोले चारवटा घर बगाएको छ। पहिरोमा परी नौ जना बेपत्ता भएका छन् भने दुई जनाको शव घटनास्थलमा फेला परेको छ। प्रहरीले बेपत्ता भएका नौ जनाको खोजीकार्य जारी राखेको छ, तर पहिरोमा परेकाहरूको पूर्ण विवरण अझै प्राप्त भएको छैन।
पहिरोले दोरम्वा र गाउँपालिकाको बीचमा रहेको अँधेरीखोलाको पुल पनि बगाएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक प्रदिपकुमार सिंहले थप विवरण आउन बाँकी रहेको बताएका छन्।
हाल इलाका प्रहरी कार्यालय टोकरपुरबाट खटिएको प्रहरी टोली र स्थानीयहरू उद्धारमा जुटेका छन्। साथै, जिल्ला प्रहरी कार्यालय रामेछापबाट प्रहरी नायव उपरीक्षकसहितको टोली घटनास्थलतर्फ जाँदैछ। सदरमुकाम मन्थलीबाट उक्त स्थानमा पुग्न सवारीसाधनमा करिब ४ घण्टा लाग्छ।