विगत दुई दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय बहुप्रतिभाका धनी सर्जक तथा गायक हेमन्त खड्काको नयाँ लोकधुन “गैरी खेतमा धान” सार्वजनिक भएको छ।
असार महिनासँगै किसानहरूको खेतालो व्यस्तता र त्यसमै गाँसिएको प्रेमकथालाई गीतले आफ्नो विषयवस्तु बनाएको छ। गीतको छायाङ्कन बागलुङको रमणीय गाउँ सिगाँना आसपासमा गरिएको हो।
हेमन्त खड्काकै शब्द तथा लय रहेको गीतमा उनलाई लोकप्रिय गायिका देवी घर्तिले स्वरमा साथ दिएकी छिन्। अडियो र भिडियो दुवै पक्षमा उत्कृष्टता देखिएको यो गीत हेमन्त खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
अहिलेका चर्चित युवा निर्देशक प्रेम थापाले निर्देशन गरेको भिडियोलाई सजीव बनाउन हेमन्त खड्का र यशु भट्टराईको प्रमुख अभिनय देख्न सकिन्छ। साथै, साइड डान्सरहरूको आकर्षक नृत्यले गीतलाई झनै रंगीन बनाएको छ।
गीत सार्वजनिक भएपछि हेमन्त खड्काले भने, “असार महिनालाई विषय बनाएर गीत सार्वजनिक हुने क्रम निकै कम छ। त्यसैले परम्परा र माटोको गन्ध बोकेको गीतमार्फत सानो प्रयास गरेको हुँ।”
‘मूस्ताङ लेतेमा’, ‘भन्देउ के गरम’, ‘घर त मेरो बागलुङ सिगाना’, ‘राम सिता’, ‘एउटा छोरो’ जस्ता चर्चित गीतहरू प्रस्तुत गरिसकेका हेमन्त खड्काले संगीत क्षेत्रलाई निरन्तरता दिइरहने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।