शैक्षिक सुधारको लागी भीमोदयका सरोकारवालाहरुलाई प्रशिक्षण

चितवन - चितवनको कालिका नगरपालिका ५ मा पदमपुरमा रहेको भीमोदय नमुना माध्यमिक विद्यालयमा ‘होल स्कुल एप्रोच तालिम’ संचालन गरिएको छ । बागमती प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालय बाट स्वीकृत ‘ नमूना विद्यालय शैक्षिक सुधार’ कार्यक्रम अन्तर्गत तालिम संचालन भएको हो ।

तालिममा शिक्षकहरुको पेशागत कार्यक्षमता वृद्धि गराउने, विद्यालयको शैक्षिक र व्यावस्थापकिय उन्नयनमा टेवा पुर्याउने, विद्यालयको वर्तमान समस्याको पहिचान गरी समस्या समाधानको उपायको खोजी गर्ने, विद्यार्थी-शिक्षक-अभिभावक-विद्यालय व्यवस्थापन समिति बीचको सम्बन्ध विस्तार, लगायत विषयमा सहभागीहरुलाई प्रशिक्षण दिइएको विद्यालयका शिक्षक सुवास बिंडारीले जानकारी दिए।

प्रशिक्षण कार्यक्रममा शिक्षा तालिम केन्द्र चितवनका वरिष्ठ प्रशिक्षक रामचन्द्र कट्टेल र अक्सफोर्ड कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्टका सह-प्राध्यापक तथा अनुसन्धान शाखा प्रमुख डा. बसन्त अधिकारीले सहजीकरण गरेका थिए।

आईतबार विद्यालयको सभाहलमा सम्पन्न उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, कालिका नगरपालिका कार्यपालिका सदस्य एवं विद्यालय व्यवस्थापन समिति सदस्य शान्ती महतो, शिक्षक अभिभावक संघका अध्यक्ष उत्तरकुमार अधिकारी, सल्लाहकार संयोजक नारायणबहादुर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेलले तालीमको उद्देश्य र औचित्य माथि प्रकाश पारेका थिए । सहायक प्रधानाध्यापक रामप्रसाद खनालले अतिथि तथा सहभागीहरुलाई स्वागत मन्तव्य राखेको कार्यक्रम आधारभूत तह इन्चार्ज शिवप्रसाद सापकोटाले संचालन गरेका थिए ।

प्रतिक्रिया