आजदेखि एसइई परीक्षा सुरु, ५ लाख विद्यार्थी सहभागी हुने

काठमाडौं - आज चैत १७ गते शुक्रबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ ।

चैत २९ गतेसम्म चल्ने यस वर्षको एसइई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । जसअनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसइई परीक्षा दिँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसइईमा सहभागी हुनेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परीक्षा दिन लागेका हुन् । जापान सरकारको अनुमति लिएर नेपाली पाठ्यक्रम पढाइरहेका विद्यालयका विद्यार्थीहरु एसइईमा सहभागी हुन लागेका हुन् ।

एसइई परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । 

प्रतिक्रिया