काठमाडौं । भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने स्वीकृति दिएको छ। यससँगै नेपालले भारतलाई निर्यात गर्न पाउने विद्युत् क्षमता १,०९०.९ मेगावाट पुगेको छ। बंगलादेशलाई निर्यात गर्न स्वीकृत ४० मेगावाट जोड्दा नेपाललाई कुल १,१३०.९ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति प्राप्त भएको छ।
भारतले यसअघि श्रावण २६ गते २०० मेगावाट विद्युत् निर्यातको स्वीकृति दिएको थियो। त्यसपछि बिहीबार थप ८० मेगावाट निर्यात गर्न अनुमति दिएको हो। यो अनुमति मध्यम अवधिको सम्झौताअन्तर्गत सन् २०२५ अगस्ट २१ देखि सन् २०२६ अक्टोबर ३१ सम्मका लागि रहनेछ।
हालै स्वीकृत विद्युत् मध्ये ४८.५ मेगावाट मेवा खोला जलविद्युत् आयोजना र ३१.०४ मेगावाट करुवा सेती जलविद्युत् आयोजनाबाट उत्पादन भएको हो। यी दुवै आयोजनाबाट उत्पादित विद्युत् भारतको बजारमा पठाइनेछ।
विद्युत् निर्यात क्षमतामा भइरहेको विस्तारलाई ऊर्जा क्षेत्रका विज्ञहरूले सकारात्मक कदमका रूपमा लिएका छन्। उनीहरूको भनाइमा यसले नेपालमा आन्तरिक खपतभन्दा बढी उत्पादन हुने विद्युत् वैदेशिक बजारमा उपयोग गर्ने अवसर बढाउनेछ।