नेपालबाट हालसम्मकै उच्च विद्युत् निर्यात, दैनिक ११३० मेगावाट विद्युत विक्रि

काठमाडौं, भदौ ११ – वर्षायामसँगै विद्युत् उत्पादन बढेपछि नेपालले हालसम्मकै उच्च मात्रामा विद्युत् निर्यात गर्न थालेको छ। हाल दैनिक ११ सय ३० मेगावाटभन्दा बढी बिजुली भारत र बाङ्लादेशमा निर्यात भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जानकारी दिए।

उनका अनुसार हालकै दरमा विद्युत् निर्यात कायम रहे वार्षिक करिब ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरिएको छ। यस दरमा करिब नौ अर्ब ९० करोड ६ लाख युनिट बिजुली निर्यात हुने सम्भावना छ।

सरकारले ऊर्जा मार्गचित्र–२०८१ मार्फत सन् २०३५ सम्म कुल २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ, जसमा १५ हजार मेगावाट निर्यात गर्ने योजना छ। त्यसअनुसार भारतलाई १० हजार र बाङ्लादेशलाई पाँच हजार मेगावाट विद्युत् निर्यात गर्ने तयारी छ। मन्त्री खड्काले विद्युत् निर्यातलाई नेपालको ऊर्जा आत्मनिर्भरता, दिगो आर्थिक विकास र क्षेत्रीय ऊर्जा सहकार्यतर्फको महत्वपूर्ण कदमका रूपमा चित्रण गरे।

भारत र बाङ्लादेशसँग हालसम्म ९४० मेगावाट विद्युत् निर्यातका लागि सम्झौता भएकोमा हालै भारतसँग थप २०० मेगावाट निर्यात गर्न सहमति भएको छ। यसरी कुल १,१४०.७ मेगावाटसम्म निर्यात गर्न सक्ने समझदारी भएको छ। बाङ्लादेशसँग दैनिक ४० मेगावाट विद्युत् निर्यात गर्ने सहमति छ, बाँकी सबै भारततर्फ जानेछ।

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले करिब १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो। त्यही अवधिमा करिब १२ अर्ब ९२ करोड बराबरको विद्युत् आयात भएको थियो। यसरी निर्यात आयातभन्दा ४ अर्ब ५४ करोड रुपैयाँ बढी रहँदा नेपालले विद्युत् व्यापारमा नाफा देखाएको हो।

विद्युत् निर्यातमा बाङ्लादेश महत्वपूर्ण गन्तव्य बनेको छ। त्रिपक्षीय सम्झौताअनुसार नेपालले पहिलोपटक डलरमा प्रतियुनिट ६.४० सेन्ट दरमा ४० मेगावाट विद्युत् बिक्री गरिरहेको छ। भारतको एनटिपिसीमार्फत ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइन र बेहरामपुर–भेडामारा लाइनमार्फत बिजुली बाङ्लादेश पुगोस् भन्ने रणनीति सफल भएको छ।

वर्षायाममा उत्पादन बढ्ने अवसरलाई लक्षित गर्दै नेपालले भारतीय ऊर्जा बजारमा डे अहेड र रियल टाइम मार्केटमार्फत बिजुली बेच्न थालेको छ। साथै एनभिभिएनमार्फत मध्यकालीन सम्झौतामा समेत आपूर्ति भइरहेकाले निर्यात आयमा थप वृद्धि भइरहेको छ।

प्रतिक्रिया