• गृहपृष्ठ /
  • Breaking News ,
  • शिक्षा/स्वास्थ्य ,
  • मुख्य खबर ,
  • पत्रपत्रिका

दुर्गममा शिक्षा संकट: ट्युसनका भरमा एसईई

 

काठमाडौं । देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सुरु हुँदै गर्दा कर्णाली प्रदेशका विद्यार्थी भने शिक्षक र पाठ्यपुस्तक अभावका कारण आधा कोर्समै परीक्षा दिन बाध्य भएका छन्।

कालीकोट र सुर्खेतका विभिन्न विद्यालयमा कक्षा १० का विद्यार्थीहरूले अधिकांश विषयको पाठ्यक्रम पूरा नगरी एसईई दिन लागेको गुनासो गरेका छन्। कालीकोटको शुभकालिका गाउँपालिकास्थित एक विद्यालयकी छात्रा जमुना रोक्काका अनुसार अंग्रेजी, गणित र विज्ञानजस्ता मुख्य विषयको पनि पूरा कोर्स पढाइ नभएको अवस्थामा परीक्षा दिनुपर्ने बाध्यता रहेको छ।

दुर्गम क्षेत्रका विद्यालयहरूमा माध्यमिक तहका शिक्षकको चरम अभाव रहेको छ। कतिपय विद्यालयमा कक्षा ९ र १० मा एक जना पनि स्थायी शिक्षक छैनन् भने प्राथमिक तहका शिक्षकले नै विज्ञानजस्ता विषय पढाइरहेका छन्। पटक–पटक बिदा, आन्दोलन र चिसो मौसमका कारण पठनपाठन प्रभावित हुँदा कोर्स पूरा गर्न नसकिएको शिक्षकहरूको भनाइ छ।

समयमै पाठ्यपुस्तक नपुग्नु पनि अर्को प्रमुख समस्या बनेको छ। दुर्गम क्षेत्रका विद्यालयमा शैक्षिक सत्र सुरु भएको दुई–तीन महिनापछि मात्रै पुस्तक पुग्ने गरेको गुनासो छ। यसका कारण विद्यार्थीले स्वअध्ययन गर्न समेत कठिनाइ भोग्नुपरेको छ।

कोर्स पूरा नहुँदा विद्यार्थीहरू ट्युसन पढ्न सुर्खेत र जिल्ला सदरमुकामतर्फ जाने प्रवृत्ति बढेको छ। यसले अभिभावकलाई आर्थिक रूपमा थप भार परेको छ। कतिपय अभिभावकले महिनामा २० हजार रुपैयाँसम्म खर्च गरेर छोराछोरीलाई बाहिर पढाउन बाध्य भएको बताएका छन्।

कर्णाली प्रदेशमा शिक्षक अभाव गम्भीर समस्याका रूपमा देखिएको छ। अंग्रेजी, गणित र विज्ञान विषयमै सयौं शिक्षक अपुग हुँदा शैक्षिक गुणस्तरमा गिरावट आएको छ। कर्णालीमा एसईई नतिजा पनि वर्षेनि कमजोर बन्दै गएको तथ्यांकले देखाउँछ।

दुर्गम जिल्लाहरूमा हिउँदमा हुने बसाइँसराइ, यार्सागुम्बा सिजन, चाडपर्व र शिक्षकको अनियमित उपस्थितिले पनि पढाइ प्रभावित हुने गरेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन्।

यस वर्ष कर्णालीबाट करिब ३८ हजारभन्दा बढी विद्यार्थी एसईईमा सहभागी हुँदै छन्। देशभर भने ५ लाख १२ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। परीक्षा बिहान ८ बजेदेखि सञ्चालन हुनेछ।

विशेषज्ञहरूका अनुसार दुर्गम क्षेत्रका विद्यालयमा देखिएको शिक्षक अभाव, पूर्वाधार कमी र व्यवस्थापन कमजोरी समाधान नगरेसम्म कर्णालीको शैक्षिक अवस्था सुधार हुन कठिन देखिन्छ। Kantipur Daily

प्रतिक्रिया