काठमाडाैं - नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को लागि ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन’ सार्वजनिक गरेको छ। प्रतिवेदनमा नेपालमा वैदेशिक लगानीको क्षेत्रगत अवस्था, प्रवृत्ति र नीति निर्माणमा सहयोग गर्ने उद्देश्यले गरिएको सर्वेक्षणको नतिजा समेटिएको छ।२०७९/८० मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (पीएफआई) अन्तर्गत सञ्चालनमा रहेका २३८ कम्पनीको नमूना सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको हो।
सर्वेक्षणको नतिजाअनुसार, आर्थिक वर्षको अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ११.८ प्रतिशतले वृद्धि भई २ खर्ब ९५ अर्ब ५० करोड कायम भएको छ।कुल वैदेशिक लगानीमध्ये ५२.८ प्रतिशत चुक्ता पुँजी, ३३.७ प्रतिशत सञ्चिति, र १३.५ प्रतिशत कर्जाको अंश रहेको छ। २०८० असार मसान्तसम्म नेपालमा ५८ वटा देशको प्रत्यक्ष वैदेशिक लगानी पुगेको छ, जसमध्ये भारत, चीन, आयरल्याण्ड, अष्ट्रेलिया, र सिङ्गापुर शीर्ष पाँच देशमा पर्छन्।नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५९.७ प्रतिशत औद्योगिक क्षेत्रमा र ४०.२ प्रतिशत सेवा क्षेत्रमा रहेको छ।
औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत् र उत्पादन क्षेत्रमा उच्च लगानी छ।प्रदेशगत रुपमा, बागमती प्रदेशमा सबैभन्दा बढी ५९.७ प्रतिशत प्रत्यक्ष लगानी रहेको छ, भने लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशमा एक प्रतिशतभन्दा कम लगानी रहेको छ। उत्पादनमूलक कम्पनीहरुको क्षमता उपयोग ६०.६९ प्रतिशत रहेको र इक्विटीको प्रतिफल करिब ११.६१ प्रतिशत रहेको पाइएको छ।