सन् २०२४ मा पर्यटन क्षेत्रमा वृद्धि: नेपाल भित्रिए दैनिक ३ हजार पर्यटक

काठमाडौँ – सन् २०२४ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या ११ लाख ४७ हजार २४ पुगेको छ। नेपाल पर्यटन बोर्डका अनुसार यो तथ्याङ्क आज बिहानसम्मको हो।

बोर्डका निर्देशक मरिणराज लामिछानेका अनुसार दैनिक औसतमा तीन हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२३ को तुलनामा यो सङ्ख्या १४ प्रतिशतले वृद्धि भएको हो। यसअघि, सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

कोरोना महामारीपछि सन् २०२४ पहिलोपटक अधिक पर्यटकले नेपाल भ्रमण गरेको वर्ष बन्न पुगेको छ। महामारीको प्रभावले सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन लगभग ठप्प थियो।

राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन (UNWTO) का अनुसार कोभिड–१९ पश्चात् नेपालमा पर्यटन क्षेत्र ९६ प्रतिशतले पुनरुत्थान भएको छ।

यस वर्ष नेपालमा आयोजना भएका नेपाल प्रिमियर लिग (NPL), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, ड्रागन बोट महोत्सव, र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेला र प्रदर्शनीहरूले पनि पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेलेका छन्।

प्रतिक्रिया