वैशाख – राष्ट्रिय परीक्षा बोर्डले आगामी वैशाख ११ गतेदेखि तय गरिएको कक्षा १२ को वार्षिक परीक्षा निर्धारित मितिमा नै सञ्चालन गर्ने स्पष्ट गरेको छ। सोमबार बिहान बसेको बोर्डको बैठकले परीक्षा रोक्ने कुनै निर्णय नगरेको र सबै तयारी यथावत् अघि बढाउने निर्णय लिएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा पूर्वघोषित तालिकाअनुसार हुने जानकारी दिँदै कुनै अन्योल नराख्न विद्यार्थीलाई आग्रह गरे। शिक्षक तथा कर्मचारीहरुको आन्दोलन र शिक्षामन्त्री विद्या भट्टराईको राजीनामाका कारण परीक्षा प्रभावित हुने आशंका गरिएको थियो। तर बोर्डले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समितिमार्फत परीक्षा केन्द्र तोकिएका विद्यालयहरूलाई तयारी पूरा गर्न निर्देशन दिएको छ।
परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पनि विद्यार्थीलाई ढुक्क भएर तयारी गर्न आग्रह गरेका छन्। ‘परीक्षा तोकिएको समयमा नै हुन्छ, डर वा भ्रम नराखी तयारी गर्नुहोस्,’ शर्माले भने।