काठमाडौं - नेपालमा हाल ५० लाखभन्दा धेरै डिम्याट खाता रहेका छन्। पछिल्लो समय प्राथमिक सेयर निष्कासन नहुँदा त्यो सङ्ख्या निस्क्रिय भई १५ लाख हाराहारीमा झरेको थियो।
अहिले भने धितोपत्र बोर्डले धमाधम प्राथमिक सेयरको निष्कासनको लागि अनुमति दिएसँगै सक्रिय डिम्याट खाताको सङ्ख्या बढेर २० लाख हाराहारी पुगेको छ। साथै बैंकहरूले पनि डिम्याट खाता नवीकरण गर्नेको संख्या वात्तै बढेको बताएका छन्। अहिले नेपालमा तीन दर्जनभन्दा बढी कम्पनीहरूको प्राथमिक सेयर निष्कासनको चरणमा रहेको छ।
पछिल्लो समय प्राथमिक सेयर निष्कासन गरेको गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ। पुस २४ गते साँझ ५ः०६ बजेसम्ममा १९ लाख ६ हजार ७४८ जना आवेदकले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन्। सीडीएस एन्ड क्लियरिङका अनुसार यसमा २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ।
कम्पनीले पुस २१ गते सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको हो, जसको कुल मूल्य १८ करोड ४५ लाख रुपैयाँ रहेको छ। यस आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ।
रेटिङ एजेन्सी केयर नेपालले गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आईपीओलाई ‘केयरएनपी बीबी माइनस रेटिङ’ प्रदान गरेको छ, जसले मध्यमस्तरको जोखिम देखाउँछ। यो रेटिङ २०८१ साउन २३ गते दिइएको थियो र २०८२ साउन २१ गतेसम्म मान्य हुनेछ।