काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज पनि गिरावट देखिएको छ। बजार २१.६३ अंकले घटेर २,७१४.८५ विन्दुमा झरेको छ, जसले ०.७९ प्रतिशतको गिरावट दर्शाउँछ।
आजको कारोबारमा नेप्से बजार खुलेदेखि नै गिरावटतर्फ उन्मुख देखिएको थियो। शुरुआती समयमा नै तीव्र गिरावटपछि बजार केही सम्हालिए पनि समग्र दिनभर कारोबार दबाबमा रह्यो। बजारमा घटबढ भइरहे पनि अन्तिम समयमा पुनः सुधारको संकेत देखिएको छ।
कारोबार रकम हेर्दा, आज ६ अर्ब ८३ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कूल १ करोड ३९ लाख ७४ हजार ४५२ कित्ता सेयर कारोबार भएको देखिन्छ। बजारमा दिनभर लगानीकर्ताको मनोबल कमजोर देखिए पनि अन्तिम समयमा भने किन्ने चाप केही बढेको संकेत देखिएको छ।
नेप्से सूचकमा गिरावट आउँदा अधिकांश समूहगत सूचकहरूमा पनि प्रभाव परेको छ। बैंकिङ, वित्त, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्सलगायतका समूहहरू राताम्य भए। केही कम्पनीको सेयर मूल्यमा सुधार भए पनि समग्र बजार भने कमजोर देखिएको छ।
बजार विश्लेषकहरूका अनुसार अहिलेको अवस्था लगानीकर्ताहरूका लागि संवेदनशील रहेको छ। पछिल्लो समय अर्थतन्त्रको अवस्था, बैंकहरूमा तरलता अभाव, ब्याजदरको प्रभाव, राजनीतिक अस्थिरता तथा अन्य विभिन्न कारणहरूले लगानीकर्ताहरू अझै आशंकित बनेका छन्।
लगानीकर्ताहरू अहिले सतर्कता अपनाउँदै बजारलाई नजिकबाट नियालिरहेका छन्। बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानी गर्न विज्ञहरूले सुझाएका छन्। आगामी दिनमा नेप्से कसरी अगाडि बढ्छ भन्नेबारे लगानीकर्ताहरू उत्सुक छन्।