काठमाडौं – लगातार सात दिनसम्म ओरालो लागेको शेयर बजारले लगानीकर्ताहरूमा अन्योलता निम्त्याएको छ। बजारमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरू ‘वेट एन्ड वाच’ स्थितिमा देखिएका छन्।
मंगलबार नेप्से सूचक ३२.२१ अंकले घट्दै २,७१९.२० अंकमा झरेको छ। आज ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ३९ करोड ११ लाख रुपैयाँ पुगेको छ। यद्यपि, एउटा कम्पनीले भने सकारात्मक सर्किट लगाएको छ।
यसअघि लगातार ९ दिनसम्म बढेको शेयर बजार करेक्सन मोडमा गएको विश्लेषकहरू बताउँछन्। समग्र सूचक घटे पनि मंगलबार विकास बैंक समूहको सूचक भने १.९३ प्रतिशतले वृद्धि भएको छ।
विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा देखिएको राजनीतिक अस्थिरता बजार प्रभावित हुने प्रमुख कारण बनेको छ। राजावादी प्रदर्शनले राजनीतिक अन्योलता बढाएको र त्यसको असर शेयर बजारमा समेत परेको बताइन्छ। लगानीकर्ताहरू तत्काल थप रणनीति बनाउन प्रतिक्षा गर्ने अवस्थामा रहेको बताइन्छ।