विजय लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेड (VLBS) ले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीको स्वामित्व संरचना ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो।

नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एकीकृत भएपछि संस्थाको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। सो अवस्थामा संस्थापक समूहको स्वामित्व ७४.३९ प्रतिशत र सर्वसाधारणको २५.६१ प्रतिशत रहेकाले स्वामित्व समायोजनका लागि एफपीओ जारी गरिएको हो।

लघुवित्तले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँका दरले ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्काशन गर्दैछ, जसको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ हुन्छ।

एफपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। निष्काशन छिटोमा पुस २४ गते बन्द हुनेछ भने माग अपूरो रहेमा ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ।

यस निष्काशनका लागि इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इश्युअर रेटिङ्ग बी’ प्रदान गरेको छ, जसले संस्थाले समयमै वित्तीय दायित्व पूरा गर्नुपर्नेमा उच्च जोखिम रहेको संकेत गर्दछ।

यस एफपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै ‘मेरो शेयर’ अनलाइन मार्फत पनि आवेदन गर्न सकिने छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय