काठमाडौं । नेपाली सेयर बजारमा यो साता उतारचढावपूर्ण कारोबार देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा उल्लेखनीय सुधार देखिएको छ। साताभरका पाँच कारोबार दिनमा कुल १८ अर्ब ३२ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
साताको सुरुआतमा २ हजार ६५७.४० अंकको हाराहारीमा रहेको नेप्से अन्तिम कारोबार दिन शुक्रबार २ हजार ६५३.४० अंकमा बन्द भएको छ। समग्रमा बजारमा करिब ४ अंकको सामान्य गिरावट देखिए पनि यसलाई लगानीकर्ताले ‘करेक्सन’ वा ‘पर्ख र हेर’को अवस्थाका रूपमा लिएको विश्लेषण गरिएको छ।
साताभर पाँच कारोबार दिनमध्ये दुई दिन बजार बढ्दा तीन दिन घटेको थियो। यद्यपि कारोबार रकम लगातार बढ्दै गएको तथ्यांकले बजारप्रति लगानीकर्ताको आकर्षण कायम रहेको संकेत गरेको छ।
साताको पहिलो कारोबार दिन सोमबार नेप्से १६.५४ अंकले घटेर २ हजार ६३२.९६ बिन्दुमा झरेको थियो। सो दिन ३५१ कम्पनीका ७६ लाख ९९ हजार २२७ कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका थिए।
मंगलबार बजारमा अझ ठूलो गिरावट देखियो। नेप्से २४.६३ अंकले घटेर २ हजार ६०८.३३ बिन्दुमा पुग्यो। यद्यपि कारोबार रकम भने बढेर ३ अर्ब २५ करोड ७५ लाख रुपैयाँ पुगेको थियो।
लगातार दुई दिनको गिरावटपछि बुधबार बजारले उल्लेखनीय पुनरागमन गर्यो। नेप्से ४४.५९ अंकले उकालो लागेर २ हजार ६५२.९३ बिन्दुमा पुगेको थियो। सो दिन ३ अर्ब ८६ करोड १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
बिहीबार पनि बजार सकारात्मक रह्यो। नेप्से ८.७८ अंकले बढेर २ हजार ६६१.७१ बिन्दुमा पुगेको थियो भने कारोबार रकम ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँ पुगेको थियो।
साताको अन्तिम दिन शुक्रबार नेप्से ८.३० अंकले घटेर २ हजार ६५३.४० बिन्दुमा बन्द भए पनि कारोबार रकम साताकै उच्च रह्यो। शुक्रबार मात्रै ४ अर्ब ४१ करोड २३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।
विश्लेषकहरूका अनुसार बजारले यो साता स्पष्ट दिशा लिन नसके पनि कारोबार रकममा देखिएको निरन्तर वृद्धि सकारात्मक संकेत हो। ठूला तथा संस्थागत लगानीकर्ता अझै ‘पर्ख र हेर’को रणनीतिमा रहे पनि बजारको आधार बलियो देखिएकाले आगामी सातामा सकारात्मक सुधारको सम्भावना रहेको आकलन गरिएको छ।