मन्त्री गुमेपछि जसपा ठाकुर पक्ष कमजोर, आधा सांसद वैठकमा गएनन्

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको ललिपपमा सत्तासाझेदार गर्न पुगेको जनता समाजबादी पार्टीको महन्त ठाकुर पक्ष कमजोर भएको छ । ११ जना मन्त्री सरकारमा सहकारी भएको तीन साता नपुग्दै सत्ताच्युत भए पछि ठाकुरले बोलाएको सदस्दीय दलको बैठकमा आधा सांसद गएनन् । ठाकुर रणनीति रुपमा असफल भएको सांसदहरुको ठहर छ ।

सरकारबाट हटेको पर्सिपल्ट बिहीबार ठाकुरले विघटित जसपाको संसदीय दलको बैठक बोलाएको थिए । बैठकमा ठाकुरले आफूनिकट विघटित प्रतिनिधिसभाका सदस्यहरूलाई बोलाएका थिए । तर, बैठकमा आधाजसो निवर्तमान सांसद अनुपस्थिति भए । यसले जसपाको उपेन्द्र यादव पक्षलाई फाइदा भएको छ ।

अनुपस्थित भएकामध्ये आधाभन्दा बढी काठमाडौंमै बसेर बैठकमा गएनन् । कोहीले काठमाडौंबाहिर भएको कारण देखाउँदै बैठकमा जान नसकेको बताए। जसपाको संसदीय दलमा ठाकुर पक्षका २० र उपेन्द्र यादव पक्षका १२ जना सांसद छन् । यादव पक्षका ५ जना सांसदहरू वीमल श्रीवास्तव, उमाशंकर अरगरैया, रुही नाथ, कल्लुदेवी विश्वकर्मा, रेणुका गुरूङ कित्ता परिवर्तन गरी ठाकुर पक्षमा पुगेपछि संसदीय दलमा ठाकुर पक्ष बलियो भएको हो । गत बिहीबार ठाकुर पक्षले बोलाएको बैठकमा राजकिशोर यादव, विमल श्रीवास्तव, प्रमोद साह, नरमाया ढकाल, रुही नाथ, दुलारी देवी खतवे, अमृता अग्रहरी, रानी मण्डललगायतका सांसद अनुपस्थित भए।

अघिल्लो दिन ठाकुरले संसदीय दलको बैठक बोलाएको जानकारी सबैलाई गराएका थिए । प्रतिनिधिसभा नै विघटन भए पछि विघटित भएको संसदीय दलको बैठकमा आफू नगएको प्रमोद साहले बताए । ‘संसद विघटन भइसकेको छ । विघटित भएको बैठकमा किन जाने ?,’ उनको प्रश्न छ । पछिल्लो समय साह ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन् । बैठकमा नगएका श्रीवास्तवले आफू विशेष कारणवश बैठकमा जान नसकेको बताए । बिहीबार उनी काठमाडौंमै थिए।

गत वैशाख ३१ गते ठाकुर र महतोले भक्तपुरको डोलेश्वरमा आफूनिकट सांसदहरूको बैठक बोलाएका थिए । उक्त बैठकमा सहभागी भएकाहरू पनि बिहीबार बोलाइएको बैठकमा गएनन् । बिहीबार बोलाइएको बैठकमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा भने उपस्थिति भएका थिए। बैठकमा ओली सरकारमा मन्त्री भएकाहरूले छोटो समयमै आफूले ठूलो काम गरेको सुनाएका थिए । ओली सरकारमा ठाकुर पक्षका ११ जना नेता सरकारमा सहभागी भएका थिए ।

तर तीमध्ये १० जना नेता १९ दिनपछि र एक जना राजकिशोर यादव १३ दिनपछि सर्वोच्च अदालतको फैसलाको कारण सरकारबाट बाहिरिए । सब्र्बोच्चको फैसला अनपेक्षित भएको विघटित सांसदहरूले सुनाएका थिए । बैठकमा सहभागी इकबाल मियाले बिहीबार औपचारिक बैठकभन्दा पनि अनौपचारिक छलफल भएको बताए । ‘सरकारबाट बाहिरिएपछि भेटघाट गरौ भनी अध्यक्षज्यूले बोलाउनु भएको हो,’ बैठकमा सहभागी इकबाल मियाले भने, ‘केही साथीहरू काम विशेषले बैठकमा आउन नसक्नु भएको हो । बहिस्कार गरे भनेर नबुझौं।’

स्रोतका अनुसार निर्वाचन आयोगले ठाकुर पक्षलाई बोलाएको १५ दिने सूचना तथा यादव पक्षले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा गराएको चिठीको बारेमा पनि बैठकमा छलफल भएको थियो । आयोगले पठाएको १५ दिने चिठीको कस्तो जवाफ दिने भन्ने बारेमा ठाकुरले बुधबार आफूनिकट कानुन व्यावासायीहरूसँग छलफल गरेका थिए । बिहीबार बोलाइएको बैठकमा १५ दिनभित्रै आयोगलाई जवाफ दिने निष्कर्ष निकालिएको थियो । ठाकुर पक्षले कार्याकारिणी फेरबदल र हेरफेर गर्ने अधिकार अर्का अध्यक्ष उपेन्द्र यादवको सहमतिमा ठाकुरलाई दिएको दाबी गर्दै बैठककोे माइन्युटिङको प्रतिलिपि आयोगमा बुझाएको छ । ठाकुर पक्षले बुझाएको प्रतिलिपिलाई यादव पक्षले किर्ते भनको छ । २०७७ पुस ७ गतको बैठकले गरेको निर्णयलाई आधार मानेर आयोगमा जवाफ दिने निष्कर्ष बिहीबारको बैठकमा निकालिएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया