काठमाडौं । नेप्सेमा गिरावटको क्रम सोमबार पनि जारी रह्यो। नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ। अघिल्लो साता नेप्सेमा खासै उत्साह नदेखिएकोमा यो हप्ता पनि त्यसले निरन्तरता पाएको छ।
आज परिसूचक ५५ अंकले घटेर बजार २,६४६ विन्दुमा आएको छ, भने कारोबार रकम घटेर ९ अर्ब ४३ करोडमा सीमित भएको छ। कारोबार भएका ३२७ कम्पनीमध्ये २२ कम्पनीको मात्र शेयर मूल्य बढेको छ, बाँकी सबैको शेयर मूल्य घटेको हो। सिडिबी जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ, त्यसपछि हिमालयन रिइन्स्योरेन्स कम्पनी रहेको छ।
नेप्सेका सबै उपसूचकहरु रातो भएका छन् भने होटल, इन्स्योरेन्स, र बैंक उपसूचकमा सबैभन्दा धेरै दबाब परेको देखिएको छ। ठूला लगानीकर्ताहरुले नाफा सुरक्षित गर्न खोज्दा बजारमा निरन्तर दबाब परेको छ, तर धेरैले अब बजार बाउन्स ब्याक हुने विश्वास गरेका छन्। नयाँ सरकार गठन भएपछिको समय नेप्सेले ३,००० विन्दुको नजिक पुगेर कारोबार रकम ३० अर्ब नजिक पुर्याएको थियो।