लगातार चौथो दिन घट्यो नेप्से, ३०.६० अंकको गिरावट

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार चौथो कारोबार दिन पनि घटेर बन्द भएको छ। सोमबार नेप्से ३०.६० अंकले घट्दै २५७०.१८ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ३.०४ अंक, फ्लोट इण्डेक्स १.९५ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ अंकले घटेका छन्। बजार परिसूचक ओरालो लागे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ।

गत शुक्रबार ६ अर्ब ८६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा सोमबार ३६८ कम्पनीका ४ करोड १७ लाख २५ हजार कित्ता शेयर ५१ हजार २९५ पटक किनबेच हुँदा कुल कारोबार रकम ७ अर्ब ४६ करोड ८४ लाख १६ हजार रुपैयाँ पुगेको छ। ऋणपत्र कारोबारमा भएको वृद्धि कारोबार रकम बढ्नुको प्रमुख कारण बनेको छ।

कारोबार भएका कम्पनीमध्ये सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशतले बढेको छ। विपरीत उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ११.२८ प्रतिशतले घट्दै सबैभन्दा धेरै गुमाउने कम्पनी बनेको छ।

कारोबार रकमका आधारमा एनएमबी डिबेञ्चर ८.५० प्रतिशत २०८७/८८ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ४८ करोड ४६ लाख रुपैयाँबराबरको कारोबार भएको छ। त्यसैगरी १० प्रतिशत एनआईसी एशिया डिबेञ्चर २०८५/८६ को ४६ करोड ६५ लाख रुपैयाँभन्दा बढी तथा एभरेष्ट बैंक डिबेञ्चर २०९१ को ३७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यस दिन कारोबारमा रहेका सबै १३ उपसमूहका परिसूचक घटेका छन्। व्यापार उपसमूह सबैभन्दा बढी २.३० प्रतिशतले घटेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा तथा उत्पादन एवं प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय