बैंकिङ समूहमा लगानी अवसर

काठमाडौं - दोस्रो बजारमा पछिल्लो तीन महिनादेखि बैंकिङ समूह औसतमा वृद्धि देखिएको छ। बैंकहरूको शेयर मूल्यमा वृद्धि भए पनि पीई रेसियो तुलनात्मक रूपमा अन्य समूहहरूका कम्पनीहरूको भन्दा कम देखिएको छ।

'स्मार्ट वेल्थ प्रो' स्क्रिनिङ सफ्टवेयरका अनुसार साउन २३ गतेको बजार मूल्यलाई आधार मान्दा, १९ वटा सूचीकृत बैंकहरूको औसत पीई रेसियो २०.७३ रहेको छ। यसकारण, बैंक समूहलाई अन्डरभ्याल्यू मान्न सकिन्छ। उपलब्ध तथ्यांकअनुसार १९ बैंकमध्ये ५ वटाको पीई रेसियो १५ भन्दा कम छ भने ११ वटाको पीई २० भन्दा कम रहेको छ।

पछिल्लो समय नेप्से परिसूचकसँगै बैंकिङ समूह पनि बढेको छ। बैंकहरूले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको रिपोर्ट पनि सार्वजनिक गरेका छन्, जसअनुसार उनीहरूको प्रतिसेयर आम्दानी पनि बढेको छ।

वाणिज्य बैंकहरूमध्ये प्रभु बैंकको पीई रेसियो सबैभन्दा कम ११.९८ गुणा रहेको छ। ग्लोबल आइएमई बैंकको १४.३२, प्राइम बैंकको १४.३७, सिद्धार्थ बैंकको १४.८१, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको पीई रेसियो १४.८७ रहेको छ, जसले यी बैंकहरू अन्डरभ्याल्यू छन् भन्ने देखाउँछ। सबैभन्दा धेरै पीई रेसियो भने एनआईसी एशिया बैंकको ५२.१६ रहेको छ।

तुलनात्मक रूपमा सबै बैंकहरूको पीई रेसियो अन्य सूचीकृत समूह तथा कम्पनीहरूको भन्दा धेरै कम रहेको छ। बैंकहरूको शेयर मूल्यमा वृद्धि भए पनि पीई रेसियो कम देखिएको हो। पीई रेसियोले कुनै कम्पनी वा समूह ओभरभ्याल्यूड वा अन्डरभ्याल्यूड छ भन्ने विषयमा जानकारी दिन मद्दत गर्छ। सामान्यतया, २० भन्दा कम पीई रेसियो भएका कम्पनीहरू लगानीका लागि राम्रो मानिन्छन्।

पीई रेसियोले १ रुपैयाँ नाफा कमाउन कति रुपैयाँ लगानी गर्नुपर्छ भन्ने जानकारी दिन्छ। उदाहरणका लागि, यदि कुनै कम्पनीको पीई रेसियो १० गुणा छ भने यसको शेयरमा १ रुपैयाँ नाफा कमाउन १० रुपैयाँ लगानी गर्नुपर्छ।

यद्यपि, कम्पनी वा समूहहरूको मूल्यांकनमा पीई रेसियो मात्र आधार बनाउनु हुँदैन। ग्रोथ सम्भावना, भविष्यमा थप व्यवसाय विस्तार, र अन्य रणनीतिक विषयहरूलाई पनि अध्ययन गरी निर्णय लिनु आवश्यक छ। साथै, अन्य महत्वपूर्ण सूचकहरूको पनि अध्ययन र विश्लेषण गर्नु जरुरी हुन्छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय