काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सेयर (आईपीओ) सर्वसाधारणका लागि पुस ७ गतेदेखि खुल्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीका लागि सेयर निष्कासन सम्पन्न भएपछि कम्पनीले आम सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।
सर्वसाधारण समूहमा निष्कासन हुने कुल ११ लाख ५५ हजार ९६० कित्तामध्ये विभिन्न कोटा छुट्याएर बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता सेयर आम लगानीकर्ताले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
बुक बिल्डिङ विधिबाट कम्पनीको प्रतिकित्ता सेयर मूल्य ८२० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । यसअनुसार न्यूनतम आवेदन दिन कम्तीमा ४१ हजार ४० रुपैयाँ आवश्यक पर्नेछ । नेपालमा बुक बिल्डिङ विधिबाट मूल्य तय गरी आईपीओ निष्कासन गर्ने यो दोस्रो कम्पनी हो ।
रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले पाएको छ । यसअघि आईपीओ निष्कासन प्रक्रियामा विवाद देखिएपछि कम्पनीविरुद्ध उच्च अदालतमा मुद्दा दायर भएको थियो । अदालतले कम्पनीकै पक्षमा फैसला गरेपछि रोकिएको प्रक्रिया पुनः अघि बढेको हो ।
२०५४ सालमा स्थापना भएको रिलायन्स स्पिनिङ मिल्सले कपास, पोलिस्टर, भिस्कोज, एक्रेलिक तथा टेक्स्चर्ड यार्न उत्पादन गर्दै आएको छ । सुनसरीको खनार र दुहबीमा कम्पनीका दुई उद्योग सञ्चालनमा छन् । केयर रेटिङ नेपालबाट ए माइनस रेटिङ पाएको कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी नाफा आर्जन गरेको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । कम्पनीका उत्पादन नेपालसहित भारत, टर्की लगायतका देशमा निर्यात हुँदै आएका छन् ।