काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २५४० अंकमा झरेको छ। अघिल्लो दिनको तुलनामा नेप्से ५.१५ अंकले घटेको हो। दिनभर बजार सामान्य उतारचढावमै सीमित रह्यो। दिउँसो २:५३ बजे नेप्से आजको न्यूनतम २५३३ अंकसम्म झरेको थियो।
यस दिन ७४ कम्पनीको शेयर मूल्य बढ्दा १६८ कम्पनीको घट्यो र १४ कम्पनीको मूल्य स्थिर रह्यो। बजार घटेपनि कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन ३ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्ब ८९ करोड रुपैयाँ व्यापार भयो। सबै समूहगत सूचक १ प्रतिशत भित्रकै उतारचढावमा सीमित रहे।
होटल तथा पर्यटन ०.१८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.०२ प्रतिशत र अन्य समूह ०.७२ प्रतिशतले बढे। तर बैंकिङ ०.३०, विकास बैंक ०.५२, फाइनान्स ०.८७, हाइड्रोपावर ०.४९, लगानी ०.३४, जीवन बीमा ०.१२, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.४९ तथा व्यापार समूह ०.१० प्रतिशतले घटे।
तीन कम्पनीको शेयर आज १० प्रतिशतले बढ्यो। हालै सूचीकृत सागर डिस्टिलरी, बुंगल हाइड्रोपावर र बन्दीपुर केबुलकारको मूल्य ‘सर्किट’ लाग्दै १० प्रतिशतले माथि गयो। नबिल डिबेन्चर २०८५ को मूल्य ९.९१ प्रतिशत र नबिल डिबेन्चर २०८९ को ६.९० प्रतिशतले बढेको छ।
उता भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घट्दै सबैभन्दा ठूलो गिरावटमा पर्यो। रुरु जलविद्युत् ९.५२, दरामखोला हाइड्रोपावर ६.०९, पिपुल्स हाइड्रोपावर ५.२३ र माबिलुङ इनर्जी ४.३७ प्रतिशतले घटे।
आज सबैभन्दा धेरै कारोबार भएका धितोपत्रमा सिद्धार्थ बैंक डिबेन्चर ०८९, नेपाल पुनर्बीमा, माउन्टेन इनर्जी, एनआरएन इन्फ्रास्ट्रक्चर र युनियन हाइड्रोपावर परे।