काठमाडौं । नेपाली सेयर बजारले लगातार दोस्रो कारोबार दिन पनि सकारात्मक गति कायम राखेको छ। शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २७३४ अंकमा पुगेको छ, जुन जेठ २७ यताकै उच्च स्तर हो।
कारोबार सुरु भएदेखि बजारमा उत्साह देखिएको थियो। दिउँसो ११:४६ बजे नेप्से २७४७ अंकसम्म पुगे पनि अन्तिम समयमा केही सुधारिँदा २७३४ अंकमा बन्द भयो।
आज १४३ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको घट्यो भने १५ कम्पनीको मूल्य स्थिर रह्यो।
कारोबार रकम पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो दिन ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ६ अर्ब २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो।
बजार वृद्धिमा बैंकिङ समूहको सबैभन्दा ठूलो योगदान रह्यो। बैंकिङ उपसूचक १.१७ प्रतिशतले बढ्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने क्षेत्र बन्यो। विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूह पनि हरियालीमा रहे।
यता व्यापार, अन्य, उत्पादन तथा प्रशोधन, जलविद्युत् र फाइनान्स समूहका सूचक भने सामान्य रूपमा घटेका छन्।
हालै सूचीकृत एभरेस्ट कलरको सेयर मूल्य १५ प्रतिशतले बढेर सबैभन्दा धेरै लाभ कमाउने कम्पनी बन्यो। त्यसपछि सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रोपावर, झापा इनर्जी र दरामखोला हाइड्रो इनर्जीका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाए।
यद्यपि कर्पोरेट डेभलपमेन्ट बैंक, बोटलर्स नेपाल (बालाजु), नाडेप लघुवित्त र सोलु हाइड्रोपावरका सेयर मूल्यमा गिरावट देखियो।
कारोबार रकमका आधारमा रिडी पावर, एनआरएन इन्फ्रास्ट्रक्चर, कुमारी बैंक, आँखुखोला जलविद्युत् र रिलायन्स स्पिनिङ मिल्स सबैभन्दा धेरै कारोबार भएका कम्पनी बने।