काठमाडौं–पुँजी बजारका लगानीकर्ताका लागि एक पछि अर्को अवसर सृजना भएको छ । विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गरिरहेको अवस्था अर्को एक जलविद्युत् कम्पनीले पनि आईपीओ जारी गर्ने भएको छ ।
सुपर मादी हाइड्रोपावरले ३१ करोड रुपैयाँको आईपीओ जारी गर्ने भएको छ । जसमा ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता सेयर निष्कासन हुने छ ।
सुपर मादी हाइड्रोपावरले कास्कीको साविक नामाजुङ्ग र पार्चे गाविस हाल मादी गाउँपालिका अवस्थित मादी खोलामा ४४ मेगावाटको जलविद्युत् निर्माण गरेको छ । आईपीओ निष्काशन गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसे र सुपर मादी हाइड्रोपावर लिमिटेडका तर्फ बाट अध्यक्ष पुष्पज्योति ढुंगानाले बुधबार सम्झौता पत्रमा हस्ताक्षर गरे ।
कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले कास्कीको मादी गाउँपालिकास्थित मादी खोलामा निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनाका लागि लगानी जुटाउन यो आईपीओ निष्कासन गर्न लागेको हो । यो आयोजना करिब ६५ प्रतिशत सम्पन्न भइसकेको छ । आगामी २०७८ साल पुसभित्र विद्युत्को व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको छ।
सुपर मादी हाइड्रोपावर लिमिटेड कम्पनी ऐन, २०६३ वमोजिम मिति २०६५ साल माघ ०३ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापना भएको कम्पनी हो । । आगामी २०७८ साल पौष महिना भित्र विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने लक्ष्य लिएको छ ।