राजस्व छलीमा १० जना विरुद्ध एक अर्बको मुद्दा दायर

काठमाडौं–राजस्व छलीको आरोपमा राजस्व अनुसन्धान विभागले एक अर्ब रुपैयाँ बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रयोग राजस्व छली गर्ने १० जना विरुद्ध एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ बराबरको बिगो दावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभिन्न व्यक्तिको नाममा नक्कली फर्म खडा गरी मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी ठगी गरेको विभागको दाबी छ । प्रोकरस इन्टरेनशनका सरोजकुमार मिश्र सहित आर के एस इन्टरेनशनल प्रालि, अनन्या इन्टरनेशनल, इन्टरसिटी इन्टरनेशनल, ब्लुक्रस टे«डर्स, जेन सप्लायर्स, राज एण्ड किशोर इन्टरनेशनल लगायत विरुद्ध मुद्दा दायर गरिएको छ ।
नक्कली भ्याट बिलको मुख्य कारोबार, तथा सबै फर्मका बैंक खाता सञ्चालक सरोजकुमार मिश्र, जयकिशोर साह, परमेश्वर साह रहेका छन् । उनीहरुले भ्याट तथा आयकर समेत चुहावट गरेको पाइएको विभागले जनाएको छ ।

विभागले नक्कली भ्याट बिल बनाउने तथा सो कार्यमा सहयोग गर्ने विरुद्ध समेत मुद्दा दायर गरेको छ । आरोपीलाई बिगो अनुसारको कारवाहीसहित कैद सजयको समेत माग गरिएको छ ।

विभागका अनुसार मिश्रले मात्रै ९ वटा भ्याट नम्बर लिएको देखिन्छ । विभागले मिश्रविरुद्ध भ्याट तर्फ ३४ करोड ८ लाख ५४ हजार ४०४, आयकर तर्फ ६४ करोड ८९ लाख १८ हजार ८५ र लाभांशतर्फ ५ करोड २७ लाख २७ हजार १३९ बिगो कायम गरेको छ ।

यस्तै, उमाशंकर सहनीले २ वटा भ्याट नम्बर प्रयोग गरेको देखिन्छ । विभागले सहनी विरुद्ध भ्याटतर्फ ११ करोड ६३ लाख १९ हजार ६१२, आयकरतर्फ १९ करोड ५६ लाख ७७ हजार ८९५ र लाभांशकर तर्फ २ करोड ८६ लाख ६० हजार ६२४ बराबरको बिगो दावी गरेको छ । कूल गरी ३४ करोड ६ लाख ५८ हजार १३१ रहेको छ ।

यस्तै, सञ्जय भन्ने जयककिशोर साहको ४ वटा भ्याट नम्बर देखिएको छ । विभागले साह विरुद्ध भ्याटतर्फ १६ करोड ७५ लाख ३८ हजार ८८४, आयकरतर्फ ३० करोड ७६ लाख ७३ हजार ३१ र लाभांशतर्फ ३ करोड ४ लाख ६० हजार ९९५ बराबरको बिगो दावी गरेको छ । कूल गरी ५० करोड ५६ लाख ७२ हजार ९१० बिगो दावी गरिएको छ ।
परमेश्वर साहको विभिन्न ४ कम्पनीको नाममा ४ वटा भ्याट नम्बर प्रयोग भएको विभागको विवरणमा उल्लेख छ । विभागले साह विरुद्ध समेत ५० करोड ५६ लाख ७२ हजार ९१० बराबरको बिगो दावी गरेको छ ।

विभागले मतियारको रुपमा रहेका तोयानाथ अधिकारी विरुद्ध १४ करोड ३१ लाख ७७ हजार ८५२ बराबरको बिगो दावी गरेको छ । कोइराला विरुद्ध पनि अधिकारीकै बराबर बिगो दावी गरिएको छ ।

लेखा परिक्षक राउत विरुद्ध ८ करोड ७५ लाख ३ हजार ७४३ बराबरको बिगो दावी गरिएको विभागले जनाएको छ ।
लेखापरिक्षक इङनाम विरुद्ध ३२ करोड १० लाख ५८ हजार १३७, लेखा परिक्षक निरौला विरुद्ध ९ करोड ३६ लाख ६७ हजार ६३, कर सहयोगी घिमिरे विरुद्ध ५० करोड २२ लाख २८ हजार ९४३ र अर्का कर सहयोगी भट्टराई विरुद्ध पनि घिमिरेकै बराबर बिगो दावी गरिएको छ ।

प्रतिक्रिया