ओम मेगाश्री फर्मास्यूटिकल्सले आजदेखि आईपीओ निष्काशन गर्ने

काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले आज (माघ २१ गते) देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न लागेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि विशेष रूपमा आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशत बराबरको १८ करोड रुपैयाँ मूल्यका १८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। यस मध्ये १० प्रतिशत बराबरको १ करोड ८० लाख रुपैयाँ मूल्यका १ लाख ८० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। यसका लागि कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई सकेको छ।

कम्पनीले ५ प्रतिशत (९० हजार कित्ता) शेयर सामूहिक लगानी कोषका लागि र ३ प्रतिशत (५४ हजार कित्ता) शेयर कम्पनीका कर्मचारीहरूलाई छुट्याएको छ। बाँकी रहेको १४ लाख ७६ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ अनलाइन प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गरिएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख ९९ हजार रुपैयाँ रहेको छ। हालसम्मको खर्च लागत ९७ करोड ५४ लाख ३६ हजार रुपैयाँ रहेको छ भने खर्च हुन बाँकी लागत २९ करोड ९ लाख ६३ हजार रुपैयाँ रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.१५ वर्ष रहेको छ भने डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ९.७५ वर्ष रहेको छ।

प्रतिक्रिया