काठमाडौंमा वायु प्रदुषण उच्च, घरबाट निस्किँदा जोखिम

काठमाण्डौं– मुलुकको राजधानी काठमाडौंमा वायु प्रदुषण उच्च जोखिम अवस्थामा पुगेको छ । प्रदुषणले जोखिम बढेको भन्दै सरकारले बालबालिका, वृद्धवृद्धा र बिरामीलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

मौसममा आएको बदलावसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले बालबालिका, वृद्धवृद्धा, दम–खोकी जस्ता श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी जोखिममा रहेको वातावरण विभागले जनाएको छ । उनीहरूलाई सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले आह्वान गरेको हो ।

वातावरण विभागका उपमहानिर्देशक इन्दूविक्रम जोशीले यस्तो बेलामा भरसक घरभित्रै बस्नुपर्ने बताए । घरमा बस्दा पनि झ्यालढोका थुनेर बस्नुपर्छ । बाहिर हिँड्नैपर्ने अवस्था भए मास्क अनिवार्य लगाउन, चस्मा समेत लगाउन र धेरै सवारी साधनको भीड भएको क्षेत्रमा जान नहुने उनको सुझाव छ ।

वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई)मा मापन गरिन्छ । सोमबार साँझ काठमाण्डौको एक्वुआई ४८८ थियो भने मंगलबार दिउँसाको ३०० रहेको छ । यो भनेको अति जोखिमपूर्ण अवस्था हो । यो मापदण्डअनुसार एक्वुआई ५० सम्म हुनुलाई राम्रो अवस्था मानिन्छ । ५० देखि १०० सम्म भयो भने त्यसलाई औसत मानिन्छ भने एक्वुआई १५० सम्म पुग्दा संवेदनशील समूह जोखिममा पर्नसक्छन्, त्यो अवस्था खराब बन्न थालेको अवस्था हो । तर, यो लेभल २०० सम्म पुगे सबैका लागि अस्वस्थ हुन्छ । एक्वुआई ३०० पुग्नु भनेको जोखिमपूर्ण हो । ३ सयभन्दा माथि जानु चाहिँ घातक हो । विभागका अनुसार अघिल्ला वर्षहरुमा यही समयमा काठमाण्डौको एक्वुआई १९० मा सीमित थियो ।

काठमाडौँ उपत्यका कचौरा आकारको भएकाले यहाँभित्र उत्पादन गरिएका प्रदूषणका कारण हानिकारक बनेको वायु तल्लो तहबाट वायुमण्डलको उपल्लो तहमा उड्न नपाएकाले उपत्यकाको वातावरण जोखिमपूर्ण बनेको हो ।

प्रतिक्रिया