हाइड्रोमा सबैको आकर्षण बढिरहेको बेला सिंगटी हाइड्रोले आईपीओ निष्कासन गर्ने

काठमाडौं–पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला विभिन्न जलविद्युत् कम्पनीले पनि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रक्रियामा रहेका छन् । आईपीओ निष्कासनका लागि करिब एक दर्जन जलविद्युत् कम्पनीले नेपाल धितो पत्र बोर्डमा आवेदन दिईसकेका छन् ।

जलविद्युत् कम्पनीहरु मध्ये दोलखा जिल्लाको सिंगटी खोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको जलविद्युत आयोजना पनि आईपीओ निष्कासनको तयारीमा रहेको छ ।

सिंगटी हाईड्रो इनर्जीले सर्वसाधारणका लागि ४३ करोड ५० लाख रुपैंयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितो पत्र बोर्डबाट अनुमतिको प्रतिक्षामा रहेको छ । प्रतिकित्ता १०० रुपैंया अंकित दरको ४३ लाख ५० हजार कित्ता सेयर खुला गर्ने कम्पनीले जनाएको छ । सिंगटी हाईड्रो ईनर्जी लिमिटेडको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स रहेको छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता सेयर खुला हुनेछ ।

जलविद्युत कम्पनीले सेयर निष्कासन गर्न धितो पत्र बोर्डमा निवेदन दिनुअघि विद्युत नियमन आयोगबाट समेत स्वीकृत लिनुपर्ने व्यवस्था छ । कम्पनीले उक्त प्रक्रिया पूरा गरिसकेको छ ।

यता पूँजी बजारमा यो साता हाइड्रोपावर कम्पनीहरुमा भने लगानीकर्ताको आकर्षण बढेको छ । मंगलबारसम्म १२ वटा उपसमूहमध्ये ९ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ भने तीन उपसमूहको सूचक सकारात्मक देखिएको थियो । त्यसमा हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै ३.१२ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया