यही पुसमै आठ करोड कित्ता शेयरको आईपीओ आउँदै,यस्तो हुँदैछ प्रक्रिया

काठमाडौं– मुलुककै सबैभन्दा ठूलो बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । सबैभन्दा धेरै पूँजी भएको इन्फ्रास्ट्रचर बैंक ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढाएको छ ।

२० अर्ब चुक्ता पुँजी रहेको बैंकले कुल पुँजीको ४० प्रतिशतले हुन आउने ८ करोड कित्ता (८ अर्ब रुपैयाँ)को आईपीओ निष्कासनका लागि नेपाल धितो पत्र बोर्डमा अनुमति माग गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएपछि आईपीओ निष्कासन गर्ने योजना छ । इन्फास्टक्चर बैंकको आईपीओ नेपालमा अहिलेसम्मकै ठूलो आईपीओ हुनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड स्थापना गरिएको हो । यो बैंकले हालसम्म ८ अर्ब ३५ करोड रुपैयाँ लगानी गरेको जनाएको छ । बैंकले पूर्वाधार क्षेत्रमा लगानी गरेको छ । अहिलेसम्म ११० मेगावाटका चारवटा जलविद्युत् आयोजनामा ५ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी, २० मेगावाटको सौर्य ऊर्जा परियोजनामा एक अर्ब कर्जा, सिमेन्ट उद्योगमा १ अर्ब ५० करोड र निर्माणाधीन पाँचतारे होटलमा ४५ करोड रुपैयाँ लगानी गरेको बैंकले जनाएको छ ।

पूर्वाधार निर्माणको लगानीमा वित्तीय अभाव हुन नदिन नेपाल सरकार, बाणिज्य बैंकहरु, जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, सार्वजनिक तथा निजी कम्पनी र प्रतिष्ठित व्यवसायीहरुले यो बैंकमा लगानी गरेका छन् ।
बैंकको अधिकृत पुँजी ४० अर्ब र जारी पुँजी २० अर्ब रुपैयाँ छ । चुक्ता पुँजी भने २० अर्ब तोकिएको छ ।

हाइड्रो, सोलार, सडक, सुरुङ, होटेल, केवलकार, एम्युजमेन्ट पार्क, रिक्रियशन सेन्टर, शिक्षा, स्वास्थ्य, एयरपोर्ट, मेडिकल कलेज, अस्पताल, विशेष आर्थिक क्षेत्र, औद्योगिक पूर्वाधार, सिमेन्ट, सहरी विकास, सूचना तथा सञ्चार प्रविधि, वातावरण मैत्री परियोजना, ठोस फोहोर मैला व्यवस्थापन, खानेपानी, सिंचाइ, कृषि पूर्वाधार परियोजनमा लगानी गर्ने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया