सेयर कारोबारमा उछाल आउँदा राजस्व सात गुणा बढ्यो

काठमाडौं–पछिल्लो समय सेयर कारोबार फस्टाएपछि सेयर कारोबारबाट आउने राजस्व साढे सात गुणाले बढेको छ । सेयर कारोबार बढ्दा लगानीकर्ताले मात्र नभए ब्रोकर कम्पनी, नेप्से, सिडिएस एन्ड क्लियरिङ धितोपत्र बोर्ड तथा सरकारलाई पनि फाइदा भएको छ ।

सेयर कारोबारबाट चालु आर्थिक वर्षको पहिलो चार महिनामा सरकारले १ अर्ब ६४ करोड रुपैयाँ राजश्व प्राप्त गरेको छ । यो पोहोरको तुलनामा ७.५० गुणाले बढी हो ।

पोहोर चार महिना (कार्तिकसम्म)मा महिनामा १९ करोड २९ लाख रुपैयाँ राजश्व प्राप्त भएकोमा यो वर्ष सोही अवधिमा बढेर १ अर्ब ६४ करोड रुपैयाँ राजश्व संकलन भएको हो । कारोबार बढेपछि सरकारले पाउने पुँजिगत लाभकर र टिडिएस बढेको हो । कुनै कम्पनीको सेयरमा १० हजार नाफा लिएर लगानीकर्ताले बेचेमा ५ सय रूपैयाँ क्यापिटल गेन तिर्नुपर्छ । सेयर बजार बढिरहँदा ब्रोकर कम्पनीको कमिसन आम्दानी ६.९ गुणा बढेको छ । पोहोर २१ करोड ५८ लाख रुपैयाँ खुद कमिसन पाएका ब्रोकर कम्पनीले यो वर्ष सोही अवधिमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएका छन् ।

नेपालमा ५० वटा ब्रोकर कम्पनी रहेका छन् । अहिले दैनिक ७ अर्ब रूपैयाँको हाराहारीमा सेयर कारोबार हुने गरेको छ । सेयर किन्ने र बेच्ने दुवै पक्षबाट ब्रोकर कम्पनीले कुल कारोबार रकममा ०.४ देखि ०.६ प्रतिशतसम्म कमिसन लिने गरेका छन् । औसतमा०.५ प्रतिशत कमिसन मान्दा ब्रोकर कम्पनीहरूले दैनिक साढे ३ करोड रुपैयाँ कमिसन लिँदै आएका छन् ।

त्यस्तै नेप्सेले पोहोर ५ करोड ३९ लाख रूपैयाँ आम्दानी कमाएकोमा यो वर्ष सोही अवधिमा ३३ करोड ८२ लाख आम्दानी गरेको छ । नेपाल धितोपत्र बोर्डले पोहोर चार महिनामा ७६ लाख रुपैयाँ आम्दानी गरेकामा अहिले बढेर ५ करोड रुपैयाँ कमाएको छ ।

प्रतिक्रिया