माउन्टेन इनर्जीको आइपिओ आज बाँडफाँड हुने

काठमाडौं– माउन्टेन इनर्जी नेपालले बिक्रीमा ल्याएको प्राथमिक शेयर (आइपिओ) आज बाँडफाँड हुने भएको छ । कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टका अनुसार बुधबार १० बजे आइपिओ बाँडफाँड गर्ने निर्णय भएको छ ।

कम्पनीले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसका लगानीकर्ता नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल लगायत छन् । त्यसैगरी, अन्य लगानीकर्तामा भाटभटेनीका मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायत रहेका छन् ।

माउन्टेन इनर्जीमा आइपिओ भर्ने मध्ये २८ प्रतिशतले मात्र पाउने भएका छन् । माग भन्दा धेरैले आवेदन गरेपछि एक लाख ८३ हजार २६ जनाले मात्र पाउने भएका छन् । कम्पनीले १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको भए पनि करिव साढे सात गुणा बढी एक करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । १० कित्ता शेयर गोलाप्रथाबाट वितरण गर्न लागिएको हो । त्यसमा १० कित्ताका दरले एक लाख ८३ हजार २१ जनाले पाउने छन् । पाँच जनाले ११ कित्ताका दरले शेयर पाउने भएका छन् ।

आइपिओमा ६ लाख ७४ हजार चार सय १६ जनाले आवेदन दिएका भए पनि चार लाख ९१ हजार ३९० जनाको हात खाली हुनेछ । आवेदक मध्ये ७२ प्रतिशतले एक कित्ता शेयर पनि पाउँदैनन् ।

३९ करोड ३६ लाख ५ हजार ४० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जुन कम्पनीले जारी पूँजीको २० प्रतिशत हुन्छ । जारी पूँजीको १० प्रतिशत (१९ लाख ६८ हजार २७ कित्ता) पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयहरुलाई जारी गरेकोमा सोही बराबरको शेयर दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । आइपिओ मध्ये सामूहिक लगानी कोषहरुका लागि ९८ हजार चार सय एक कित्ता र ३९ हजार ३६१ कित्ता कर्मचारीहरुलाई बाँडफाँड गरी १८ लाख ३० हजार दुई ६५ कित्ता साधारण शेयर सर्वसाधारणमा बिक्री खुल्ला गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया