डलर सञ्चिति साढे १२ अर्ब पुग्यो, वैदेशिक व्यापारमा सुधार

काठमाडौं–कोभिड–१९को कारण अर्थतन्त्र थला परेको अवस्थामा रेमिटेन्स आगमन वृद्धि र आयात घट्दा वैदेशिक मुद्राको सन्चिति बढेको छ । अर्थतन्त्रका आन्तरिक सूचक कमजोर देखिए पनि वैदेशिक सूचकले सरकारलाई राहात मिलेको छ ।

आन्तरिक राजस्वले खर्च चलाउन हम्मे परेको बेला रेमिटेन्स आयात बढेसँगै डलरको सञ्चिति पनि बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तीन महिनाको तथ्यांक अनुसार विदेशी विमिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको छ । असार मसासन्तमा विदेशी विनिमय सञ्चिति ११ अर्ब ६५ करोड डलर थियो । असार मसान्तको तुलनामा ७.८ प्रतिशतले बढेको हो । नेपाली रुपैयाँमा १४ खर्ब ७० अर्ब २६ करोड रुपैयाँ रहेको छ ।

वैदेशिक व्यापारमा आएको सुधार सँगै डलर सञ्चिति बढेको हो । नेपालमा अधिकांश वस्तु विदेशबाट आयात गर्नुपर्छ । विदेशबाट आयात गर्नुपर्ने वस्तुको भुक्तानी डलरमा गर्नुपर्छ । नेपाल राष्ट्र बैंकसँग डलरको सञ्चिति घट्यो भने त्यो अर्थतन्त्रको लागि राम्रो मानिँदैन ।

कोरोनाको कारण रेमिटेन्स घट्ने अनुमान गरिएको भए पनि १२ प्रतिशतको वृद्धि भएको छ । राष्ट्र बैंकका अनुसार असोजसम्म रेमिटेन्स २ खर्ब ५८ अर्ब ८६ करोड रूपैयाँ भित्रिएको छ । रेमिटेन्समा आएको सुधारका कारण शोधनान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खातालगायत बाह्य क्षेत्र सकरात्मक देखिएका छन् । चालु आवको तीन महिनामा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा छ । कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५५ करोड अमेरिकी डलर छ । यस्तै चालु खाता ३४ अर्ब ३६ करोड रूपैयाँले बचतमा छ । अघिल्लो वर्ष बाह्य क्षेत्रमा धेरै समस्या थिए ।

आयात व्यापार १०.६२ प्रतिशत घटेर निर्यात व्यापार १०.८१ प्रतिशत बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनामा ४० अर्ब २० करोड रुपैयाँको निर्यात भएको छ । पोहोर सोही अवधिमा ३६ अर्ब २७ करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । पोहोर ४ महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँको आयात भएकामा यो वर्षको सोही अवधिमा ४ खर्ब २ अर्ब ४९ करोड रुपैयाँको आयात भएको छ ।

प्रतिक्रिया