काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । पछिल्ला दुई कारोबार दिनदेखि ओरालो लागेको बजारले सोमबार पनि गिरावटको क्रमलाई निरन्तरता दिएको हो ।
सोमबार नेप्से परिसूचक १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स ०.९६ अंकले घट्दा फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंकले घटेको छ ।
बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ४ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३५० वटा कम्पनीको ५१ हजार ७०२ पटकको कारोबारबाट ४ अर्ब ४१ करोड २० लाख ४८ हजार रुपैयाँ बराबरको १ करोड ७ लाख ३९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अन्य बढेका कम्पनीहरूको मूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा सहभागी ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक ७.९४ प्रतिशतले घटेको छ भने रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ३८ करोड ८५ लाख ६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को २७ करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा लक्ष्मी सनराइज बैंकको कारोबार रकम २२ करोड ५० लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
१३ वटा उपसमूहमध्ये उत्पादन तथा प्रशोधन उपसमूह बाहेक सबै उपसमूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहमा सामान्य वृद्धि देखिएको छ भने अन्य उपसमूहको परिसूचक सर्वाधिक १.८२ प्रतिशतले घटेको छ । व्यापार र वित्त उपसमूहका परिसूचक पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेका छन् ।