ग्रीन भेन्चर्सले साढे ६२ करोडको आइपिओ ल्याउँदै

काठमाडौं–कोभिडको कारणले अन्य क्षेत्रमा लगानी गर्ने अवसर नभइरहेको अवस्थामा पुँजी बजारमा भने लगानीका लागि धेरै अवसर सृजना भएका छन् । पछिल्लो समय दिनहुँ जसो वित्तीय संस्था, बीमा कम्पनी, जलविद्युत् आयोजनाले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गरिरहेका छन् ।

जलविद्युत्मा लगानी गर्दै आएको ग्रीन भेन्चर कम्पनीले पनि सर्वसाधारणका लागि ६२ करोड ५० लाख रुपैंयाको आइपिओ (साधारण शेयर) निष्काशन गर्ने भएको छ । कम्पनीले आइपिओ निष्कासनका लागि लक्ष्मी क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

आइपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिने तयारी भैरहेको ग्रीन भेन्चर कम्पनीले जनाएको छ । बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले आइपिओ निष्कासन गर्नेछ ।

ग्रीन भेन्चर लिमिटेडले रामेछापको लिखु तामाकोसी गाउँपालिकास्थित लिखु खोलामा ५२ दशमलव ४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना निमार्ण गरिरहेको छ । जलविद्युत् आयोजनाको निमार्ण कार्य ७५ प्रतिशत सम्पन्न भएको कम्पनीका प्रबन्धक बद्री रिजालले जानकारी दिए ।
५२ दशमलव ४ मेगावाटका आयोजनाको कुल लागत १० अर्ब १६ करोड रुपैयाँ रहेको छ । जसमध्ये ७५ प्रतिशत ऋण र २५ प्रतिशत प्रवद्धकहरु तथा सर्वसाधारणको लगानी रहनेछ । तर निमार्ण अवधि लम्बिएकाले आयोजनाको लागत बढ्ने अनुमान छ ।

उक्त आयोजनाको प्रबद्र्धकको रुपमा नेपालका प्रतिष्ठित व्यापारिक समूह त्रिवेणी रं विशाल ग्रुप रहेका छन् । सो आयोजनामा नबिल बैंकको अगुवाईमा सात वटा बैंकहरुले ७ अर्ब ६२ करोड रुपैयाँ लगानी गरेका छन् । आगामी एकवर्षभित्र निमार्ण कार्य सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ । उक्त आयोजनावाट उत्पादित उर्जा २२० केभि डबल सर्किट ट्रान्समिसनलाइनबाट नेपाल बिद्युत प्राधिकरणको खिम्ती सबस्टेशनमा जोडिने छ ।

प्रतिक्रिया