मंगलबार शेयर बजारमा उल्लेखनीय वृद्धि भएको छ। धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ६२.२९ अंकले बढ्दै २.४८ प्रतिशतले उकालो लागेको हो। यससँगै नेप्से २,५७१.३४ विन्दुमा बन्द भएको छ।
गत आइतबारको तुलनामा कारोबार रकम एक अर्ब ९१ करोड रुपैयाँले बढेर कुल चार अर्ब ५७ करोड ३९ लाख रुपैयाँ पुगेको छ। आइतबार दुई अर्ब ६६ करोड १३ लाख रुपैयाँको कारोबार भएको थियो।
आज २३६ कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ भने १२ कम्पनीका सेयर घटेका छन्। इन्फिनिटी लघुवित्त र पिपुल्स हाइड्रोपावर कम्पनीका सेयरमूल्य स्थिर रहेका छन्। पाँच कम्पनीका सेयर ९ प्रतिशतभन्दा बढीले बढेका छन् भने हिमालयन पावर पार्टनरको सेयरमूल्य ६.३६ प्रतिशतले घटेको छ। सो कम्पनीको २४ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन आजको सर्वाधिक कारोबार हो।
व्यापार समूहको परिसूचक ०.७६ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहमा वृद्धि देखिएको छ। विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ४.४२ प्रतिशतले बढेको छ।