नेप्से परिसूचक घट्यो, राधी विद्युतको सर्वाधिक कारोबार

काठमाडौं – नेप्से परिसूचक बुधबार पनि घटेको छ। सोमबारदेखि लगातार ओरालो लागेको नेप्से आज ८.१४ अंकले घटेर २६२३.८३ विन्दुमा अडिएको छ।

नेप्से घट्दासमेत आज कारोबार रकम भने उल्लेख्य रूपमा बढेको छ। मंगलबार ७ अर्ब ५७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएको छ। कारोबार रकम अघिल्लो दिनको तुलनामा १ अर्ब ८० करोड रुपैयाँले वृद्धि भएको हो।

बुधबार ३१४ वटा धितोपत्रको दुई करोड ४६ लाख ४१ हजार २६१ कित्ता सेयर किनबेच भएको छ। दिनभरको कारोबारमा १०७ कम्पनीको मूल्य बढ्दा १३७ कम्पनीको घटेको र एक कम्पनीको मूल्य स्थिर रहेको छ।

समाज लघुवित्त र नेपाल माइक्रो इन्स्योरेन्सका सेयर मूल्य आज १० प्रतिशतका दरले वृद्धि भएका छन्। समाज लघुवित्तको मूल्य २३८७ रुपैयाँ र नेपाल माइक्रो इन्स्योरेन्सको १३८७.४० रुपैयाँ पुगेको छ। यस्तै, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य ९.९९ प्रतिशतले बढेर ११४७ रुपैयाँमा पुगेको छ।

अर्कोतर्फ भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घटेर ७७६.४० रुपैयाँमा झरेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ५.५७ प्रतिशतले घट्दै ९७१ रुपैयाँ कायम भएको छ ।

राधी विद्युत कम्पनीको सेयरमा आज सर्वाधिक कारोबार भएको छ। कम्पनीको सेयर ६६५ रुपैयाँमा कारोबार हुँदा कुल कारोबार ५८ करोड ४ लाख रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा ०.५७ प्रतिशतले वृद्धि हो।

सर्वाधिक कारोबार भएको दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ, जसको सेयर ३६८.२० रुपैयाँमा ५२ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कारोबारमा आएका १३ मध्ये ३ वटा समूहको परिसूचक मात्रै बढ्दा ९ वटा समूहको परिसूचक घटेको छ। वित्त समूहको परिसूचक १.२४ प्रतिशतले घट्दै सबैभन्दा धेरै ओरालो लागेको समूह बनेको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय