काठमाडाैं - लगातार घटिरहेको नेप्से परिसूचक साताको दोस्रो कारोबार दिन भने उकालो लागेको छ। सोमबार नेप्से २२.९९ अंकले बढेर २६३२.०५ विन्दुमा पुगेर बन्द भएको हो। यस्तै, सेन्सेटिभ इन्डेक्स ४.७५ अंकले, फ्लोट इन्डेक्स १.७६ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.८८ अंकले वृद्धि भएको छ।
सूचकमा सुधार देखिए पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ८ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार भने ३२४ स्टकको ७१ हजार २८७ पटकको किनबेचबाट १ करोड ६२ लाख ५ हजार कित्ता शेयर मात्र खरिदबिक्री भएको हो, जसको कुल मूल्य ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार रुपैयाँ रहेको छ।
यस दिन चारवटा स्टक सकारात्मक सर्किट लेभलमा पुगेका छन्। तीमध्ये सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्यूटिकल्स, सिन्धु विकास बैंक र तेह्रथुम पावर कम्पनी परेका छन्। यता, विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा १० प्रतिशतको गिरावट आउँदा यो दिनको सबैभन्दा बढी घट्ने स्टक बन्यो।
कारोबार रकमका आधारमा हेर्दा राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो, जसको ५९ करोड ७६ लाख रुपैयाँबराबरको शेयर कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको कारोबार ५१ करोड रुपैयाँभन्दा बढी पुग्यो भने हिमालयन रि इन्स्योरेन्सको कारोबार ४१ करोड रुपैयाँभन्दा माथि रह्यो।
उपसमूहतर्फ हेर्दा १३ मध्ये १२ उपसमूहको सूचकमा वृद्धि भएको छ। विशेषगरी विकास बैंक उपसमूह २.०१ प्रतिशतले अगाडि बढ्यो। बैंकिङ्ग, जलविद्युत, निर्जीवन बीमा र व्यापार उपसमूह पनि १ प्रतिशतभन्दा बढीले उकालो लागे। तर होटल तथा पर्यटन उपसमूहको सूचक १ प्रतिशतले घटेको छ।