अर्थले भन्यो- सेयर बजारमा बारम्बार समस्या नदोहोरियोस्

काठमाडौं । अर्थ मन्त्रालयले अनलाइन कारोबार व्यवस्थापन प्रणाली टीएमएसको समस्या समाधान गर्न नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई निर्देशन दिएको छ । लगातार टीएमएसमा समस्या देखिएपछि सोमबार अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्से दुवैलाई छलफलका लागि बोलाएको थियो ।

छलफलमा मन्‍त्रालयबाट राजस्व सचिव रामशरण पुडासैनी र वित्तीय तथा संस्थान महाशाखा प्रमुख झक्कप्रसाद आचार्य सहभागी थिए । यस्तै नेप्सेका सीईओ चन्द्रसिंह साउद र नेपाल धितोपत्र बोर्डबाट अध्यक्ष भीष्मराज ढुङ्गाना र कार्यकारी निर्देशक नीरज गिरी गएका थिए ।

छलफलको सुरुमा बोर्डका अध्यक्ष ढुङ्गानाले अनलाइन कारोबार प्रणालीमा बारम्बार समस्या आउँदा सेयर कारोबारमा समस्या आएको बताएका थिए । उनले बोर्डले नेप्सेलाई समस्या सममाधन गर्ने वारम्बार ताकेता गर्दा पनि समस्या समाधान नभएको जिकिर गरेको स्रोतले बतायो । यता नेप्सेका सीईओ साउदले भने बोर्डले अनलाइन कारोबार प्रणालीमा एकैपटक धेरैवटा फिचर्स थप गर्न निर्देशन दिँदा समस्या आएको भन्दै समस्याको जड बोर्ड भएको आरोप लगाएका थिए ।

दुवै पक्षको छलफलपछि महाशाखा प्रमुख तथा सहसचिव आचार्यले समस्याको समाधान के हो र कहिले समाधान हुन्छ भन्दै प्रश्न गरे । आचार्यको प्रश्नको जवाफमा नेप्सेका सीईओ साउदले प्रविधिमा समस्या आउँदै नआउने भन्‍न नसकिने तर टीएमएस लगायतका केही विभागलाई अनलाइन कारोबार प्रणालीलाई अपग्रेड गर्दै लैजाने बताएका थिए ।

मन्त्रालयले बारम्बार यस्तो समस्या देखिनुको कारण समाधान गर्न र अब यस्तो समस्या नआउने गरी काम गर्न निर्देशन दिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदले बताए । मन्त्रालयले समस्या नदोहोरियोस् भने पनि समस्या समधान के हुने भन्‍ने निष्कर्ष भने छलफलले दिन सकेन ।

प्रतिक्रिया