सरकारमा जाँदैनौं, प्रधानमन्त्रीको अफरलाई रमाइलोका रुपमा हेरिरहेका छौं : कांग्रेस

सत्तारुढ नेकपाभित्रको विवाद र प्रतिपक्षी दलका नेताहरुसँग बाक्लिएको भेटघाटको सन्दर्भमा कांग्रेसले कुनै पनि हालतमा अहिले सरकारमा सहभागी नहुने प्रष्ट पारेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत नेकपाका अन्य नेता र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि भइरहेका अड्कलबाजीका बीच कांग्रेसले यस्तो प्रतिक्रिया दिएको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले यो या त्यो परिस्थिति उत्पन्न भए पनि अहिलेको कार्यकाल कांग्रेस मन्त्रालय चलाउने मानसिकताले सिंहदरबार नछिर्ने बताए । प्रधानमन्त्री ओलीले सभापति देउवासँगको भेटमा विभिन्न ‘अफर’ गरेको भन्ने सन्र्दभमा उनले भने, ‘यो या त्यो परिस्थिति उत्पन्न भएपनि यो कार्यकाल माग राखेर सिंहदरबार जाने कुरा बेग्लै छ । तर मन्त्रालय चलाउने मानसिकताले जाने छैनौँ ।’

उनले प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई कांग्रेसले रमाइलोका रुपमा हेरिरहेका बताए । ‘प्रधानमन्त्रीका राम्रा प्रस्तावलाई हामीले रमाइलोका रुपमा हेरिरहेका छौँ । प्रधानमन्त्रीले देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुन् । कांग्रेसका दिन अब गए भनेर दिएका अलोकतान्त्रिक अभिव्यक्ति पनि छन् विगतमा तर त्यसमा पनि हामीले कुनै कडा प्रतिक्रिया दिएनौँ,’ प्रवक्ता शर्माले भने, ‘तर अहिले गुलियो प्रस्ताव आए पनि हामी लहसिने अवस्थामा छैनौँ । किनकि, जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्न म्याण्डेट दिएका छन् ।’

कांग्रेस सरकारमा जान लाग्यो कि भन्ने आशंकामा नरहन उनले पार्टीका कार्यकर्ताहरुलाई समेत आग्रह गरे । प्रधानमन्त्री ओली र सुवास नेम्बाङले मात्रै नभएर नेकपाका अन्य नेताहरुले पनि देउवासँग भेटघाट गरे पनि पार्टीभित्रको आन्तरिक द्वन्द्वमा कांग्रेस यो वा त्यो पक्षमा उभिन लाग्यो कि भन्ने खालको आफ्नो नेतृत्वबाट आएको विषयलाई भ्रमका रुपमा नलिन नेकपा नेताहरुलाई उनले आग्रह गरे ।

प्रवक्ता शर्माले नेपाली कांग्रेसले छिमेकीको धुरी टुटेर आफ्नो पर्खाल अग्लो होस् भन्ने मान्यता नराख्ने पनि बताए । जनताले ५ वर्षका लागि दिएको म्याण्डेटलाई जिम्मेवार प्रतिपक्षको रुपमा घनिभूत ढंगले निर्वाह गर्ने उनले प्रतिवद्धता जाहेर गरे । सरकारले गरेका राम्रा कामहरुको समर्थन र कमजोरी गर्दा आंैला उठाउनुपर्छ भन्ने मान्यता कांग्रेसले राख्ने उनको भनाइ छ ।

संसद अधिवेशन अन्त्य हुनुभन्दा एक दिनअघि सभापति देउवासँग भेट भए पनि त्यो विषयमा कुनै पूर्वसूचना प्रधानमन्त्रीले नदिएको प्रवक्ता शर्माले बताए । विधि र प्रचलित मान्यताअनुसार अधिवेशन अन्त्यको जानकारी प्रतिपक्षी दल, सभामुख, राष्ट्रियसभाका अध्यक्षलाई हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए । शर्माले राष्ट्रपतिलाई संस्थाहरुको रुपमा नभएर व्यक्तिको रुपमा लिएर त्यसको गरिमा गिराउने काम भइरहेको टिप्पणी गरे ।

पार्टीको केन्द्रिय कार्यसमिति बैठकका विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीका नेताहरुले महाधिवेशनको कार्यतालिका लगायत पछिल्ला राजनीतिक घटनाक्रमहरुका विषयमा पनि आफ्ना विचारहरु राखिरहेको बताए ।

प्रतिक्रिया