• गृहपृष्ठ /
  • Breaking News ,
  • अन्तरवार्ता ,
  • मुख्य खबर ,
  • समाचार ,
  • स्वास्थ्य

पखालाको उपचार नपाएर राजु सदाको क्‍वारेन्टिनमै ज्यान गयो, कोरोना भनेर नजिक कोही परेन

जनकपुर । धनुषास्थित हंसपुर नगरपालिका ७ का १६ वर्षीय राजु सदाले कोभिड–१९ उपचारका लागि सञ्चालन गरिएको आइसोलेसनमै ज्यान गुमाउँदा दलित समुदाय आन्दोलित भएको छ ।

आइसोलेसनमा राखिए पनि राजुलाई कोरोना संक्रमण भएको थिएन । आइसोलेसनमा हुने चरम लापरबाहीका कारण उनको मृत्यु भएको हो । भारतको चेन्नईमा होटल मजदुर रहेका राजु गत जेठमा लकडाउनका कारण काम खोसिएपछि खाना नपाएर ज्यान जोगाउनकै लागि स्वदेश फर्किएका थिए । अवस्था सामान्य भएपछि पुनः रोजगारीका लागि त्यतै फर्किने आशसँगै आएका राजुले राज्यको लापरबाहीकै कारण ज्यान गुमाउनुपरेपछि जनतामा आक्रोश उत्पन्न हुनु स्वभाविक हो ।

जेठ १४ गते भारतबाट गाउँको क्वारेन्टिनमा आइपुगेका राजुको ११ दिनपछि २४ जेठमा स्वाब संकलन गरियो । त्यसको १० दिनपछि मात्रै रिपोर्ट आयो, नेगेटिभ । २४ जेठमा कोरोना संक्रमण भए÷नभएको पुष्टि गर्न राजुको थ्रोट स्वाब संकलन गरियो । त्यसको चौथो दिन पखाला लागेर कमजोर भएपछि उनलाई तत्काल क्वारेन्टिनमै पनि उपचार गर्न सकिन्थ्यो । त्यहाँ सम्भव नभए त्यहाँभन्दा राम्रो स्वास्थ्य संस्थामा लगिनुपर्ने हो । तर, रिपोर्ट नआउँदै कोरोना संक्रमण भएको आशंका गरी संक्रमितहरूलाई राख्ने आइसोलेसनमा उनलाई पनि पठाइयो । त्यो पनि नगरपालिकाको फोहोर फाल्ने ट्रिपरमा राखेर ।

जनकपुरस्थित प्रादेशिक अस्पतालले सञ्चालन गरेको आइसोलेसनमा भर्ना त गरियो । तर, जे समस्याले उनी सिकिस्त भएका थिए त्यो समस्या समाधान गर्न चिकित्सकले सामान्य प्रयास पनि गरेन । अन्ततः चिकित्सकको स्पर्श र सामान्य पीडा कम गर्ने औषधिका लागि तड्पिदै राजुले संसार त्यागे । उनको मृत्युपछि दलित समुदायले चिकित्सकको लापरबाही भन्दै न्यायका लागि संघर्षमा छ । यता अस्पताल व्यवस्थापन पक्ष भने घटनाको ढाकछोपमै केन्द्रित छ ।

आइसोलेसनका इन्चार्ज डा. जामुनप्रसाद सिंहले स्वाब परीक्षण्को रिपोर्ट समयमा आउन नसक्दा राजुको उपचार विधि फरक भएको स्वीकारे पनि आइसोलेसन व्यवस्थापन पक्षको बचाउ गरे । “आरडीटी जाँच गर्दा कोरोना संक्रमण भएको देखाएपछि सोहीअनुरूप उपचार प्रक्रियामा लगिएको हो,” डा. सिंह भन्छन्, “पीसीआरको रिपोर्ट नेगेटिभ आउँदा ढिलो भइसकेको थियो । यसमा अस्पतालको कमजोरी छैन ।”

बुधबार जिल्लाभरका मुसहर समुदायको अगुवाइमा दलित समुदायले अस्पताल घेराउ गरी प्रदर्शन गरेको थियो । बिहीबार प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलासमक्ष डेलिगेशन जाने तयारी रहेको राष्ट्रिय मुसहर (सादा) महासंघका अध्यक्ष चन्देश्वर सादाले बताए । उनले भने, “राजुको उपचारमा चरम लापरबाही भएको छ । सामाजिक न्यायका लागि यस्ता कति राजुले अकालमा ज्यान गुमाउनुपर्ने हो ?” प्रमुख जिल्ला अधिकारीले पनि समस्याको सम्बोधन गर्न नसके कडा संघर्षमा उत्रिने सादाको चेतावनी छ ।

रिपोर्ट आउन ढिला हुँदा समस्या

भारतमा बन्दाबन्दी भएपछि विभिन्न प्रान्तबाट नेपाल फर्किएका कामदार तथा विद्यार्थीलाई राख्न पालिकाहरूले सञ्चालन गरेको क्वारेन्टिनमा दिनहुँ समस्या बढ्दो छ । क्वारेन्टिनमा आएको धेरै दिनपछि स्वाब संकलन गरिने र त्यसपछि पनि लामो समयसम्म रिपोर्टका लागि पर्खिन नसक्दा घर गइदिएपछि मात्रै पोजिटिभ रिपोर्ट आउँदा समस्या देखिने गरेको छ ।

प्रदेश २ मा बुधबारसम्म जम्मा ४१ हजार एक सय ५१ जनाको स्वाब संकलन गरिएकामा ६ हजार आठ सय १६ जनाको रिपोर्ट आउन बाँकी छ । असारमा यस प्रदेशमा संक्रमणको दर बढेको देखिन्छ । अहिलेसम्म प्रदेश २ मा संक्रमितको संख्या एक सय ९४ महिलासमेत तीन हजार दुई सय पुगिसकेको छ । तीमध्ये उपचारपछि निको भएर एक हजार दुई सय ३४ जना घर फर्केको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया