नेकपा सचिवालयकाे निर्णय : विदेशी बुहारीलाई बिहेकाे सात वर्षपछि मात्र नागरिकता

सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। नेकपा सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकले यस्तो नागरिकता लिन सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय पनि गरेको छ।

प्रवक्ता श्रेष्ठले संसदमा विचाराधीन नागरिकता विधेयकका प्रावधानबारे छलफल भएकाे बताए। उनले भने, ‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगीकृत नागरिकताको प्रवधानबारे छलफल गरेर निष्कर्ष निकालिएको छ।’

उनका अनुसार नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाको हकमा ७ वर्ष देशभित्र बसेको पुष्टि हुनुपर्ने र आफ्नो विदेशमा रहेको नागरिकता परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेस गर्नुपर्ने निर्णय भएकाे छ।

प्रतिक्रिया