अन्यौल एस.ई.ई परीक्षासंगै जोडिएको भविष्य

सुमना तिम्सिना, धनकुटा

वि.स. २०७६ साल चैत्र ५ गतेका दिन बेलुकापख मेरो मोबाइलमा फोन आयो । म्याडम एस.ई.ई परीक्षा त रोकियो नि ! मैले भने हो र ? म बाहिर छु बुझ्छु है भने । त्यसपछि मैले तुरुन्त प्रिन्सिपल सरलाई फोन गरें । उहाँले भन्नुभयो— त्यस्तै न्यूज आयो अझै बुझ्नुपर्छ । म पनि हत्त न पत्त घर आएँ र होस्टल गएँ । त्यहाँ एस.ई.ई. तयारी गरिरहेका विद्यार्थीले भने म्याडम परीक्षा रोकियो ! कति ले खुशी भएर भने आहा……कति मज्जा कतिले भने ला…… अब के गर्ने यत्रो तयारी । त्यतिबेला सम्म अझै प्रन्सिपल सर भन्दै हुनुहुन्थ्यो, ए नानीबाबुहरु हो ! टुङ्गगो छैन ग्रामर चैँ सकिहाँलौ खाना खानुभन्दा पहिले । उहाँको भनाईमा परीक्षा नरोकिए हुन्थ्यो भन्ने भाव झल्कन्थ्यो । विद्यार्थीहरु भन्दै थिए कि सर परीक्षा रोकियो भने खै के पढ्नु, अझै बुझौंन । फेरी पनि प्रन्सिपल सर भन्दै हुनुहुन्थ्यो पख न पख यत्ती चाँही पढिहालौं, पछि भए पनि काम लाग्छ ।

त्यत्तिकैमा फेरी परीक्षा रोकिएको आधिकारिक न्यूज आयोे । यो सुन्दा म खङ्करङ्ग भएँ । ला…..अब के होला ? यत्रो विद्यार्थीको तयारी, अभिभावकको लागानी । अनि विद्यालय र शिक्षकको मेहनत, विद्यालयको पनि त सेसनको अन्तिम अनि अन्तिम व्याचका विद्यार्थीको अन्तिम शुल्क उठ्ने कुरा पनि त छ । विद्यालयको लेखाफाँट मैले नै हेर्ने भएकाले शिक्षक कर्मचारीलाई पनि तलब खुवाउनु पर्ने त छँदैछ । यस्ता कुरा पनि थपिए मेरो मनमा । अभिभावकको फोन आउन थाल्यो । म्याडम अब के गर्नु ? कहिले सम्म हो केटा केटी त बिग्रिने भए नि ? हुन त २÷४ दिनमै होला नि है परीक्षा त । मैले भने अहिले केही टुङ्गो छैन, टुङ्गो भएपछि हामी फोन गर्छौ । अहिले नानीबाबुलाई किताब सहित घर पठाइदिन्छौ । घरमा बसेर पढ्नका लागि रुटिन पठाईदिन्छौ घरमा नै बसेर पढ्न लागाइदिनु है । अब सरकारले लकडाउन लगाउने कुरा छ लकडाउन लाग्न सक्छ सुरक्षित रहेर बस्नु होला । फेरी २÷४ दिनमै परीक्षा हुन्छ होला भन्ने आशा राखेका हामीले अहिलेसम्म अत्तोपत्तो छैन एस ई.ई. परीक्षाको । त्यस्तो अवस्थामा परीक्षा गर्ने कुरा पनि त भएन ।

 

आजका दिनमा समस्त विद्यार्थीहरु कोभिड—१९ को कहरसंगै अन्यौलता भित्र पनि सुन्दर भविष्यको खोजिमा रहेका छन्

त्यसैबेला आत्तिएका विद्यार्थीहरुको मनोविज्ञानमा कस्तो असर परेको होला अनि अभिभावकहरुलाई त झन छोरा छोरीको भविष्यको कत्रो चिन्ता होला । यो जो कोहीले पनि हामी एक जिम्वेवार ब्यक्ति भएर आँकलन गर्न सक्छौ । कुनै बेलाको फलामे ढोका मानिने एस.ई.ई. लाई सरकारी तवरबाट कम महत्व दिन खोजे पनि सामाजिकरुपमा अझै फलामे ढोकाकै रुपमा हेरिने भएकाले उक्त परीक्षाको अझै महत्व घटेको छैन । त्यसो त यी विद्यार्थीहरुको मात्र समस्या हैन यो समयमा अरु कक्षा ११ र १२ का विद्यार्थीहरुको पनि समस्या ज्यूँका त्युँ छ । दिन–दिनै विद्यार्थीहरुले फोन गरेर एस ई.ई. कहिले हुन्छ म्याम ? के पढ्नु? के गर्नु ? पढेको पनि बिर्सिसक्यौं भन्छन् । म भन्छु पढ्न चाहिँ नछोड है नानीबाबु हो । म आफै एक निजी विद्यालय संचालक पनि भएकाले विद्यालयको रिजल्ट बिग्रन्छ भन्ने चिन्ता म मा नभएको काँहा हो र ।
त्यसो त विद्यालयले विद्युतीय माध्ययमबाट कक्षा संचालन गर्न नखोजेको पनि हैन र सकेसम्म प्रयास गरिराखेका छौ पनि । तर हाम्रो एक विकाशोन्मुख देश नेपाल त्यही पनि धनकुटा जस्तो पहाडी क्षेत्रमा भएको भूभाग अनि यसका दुर दराजमा जहाँ इमेल इन्टरनेटको कुरा, अनलाईन कक्षा यो पनि सम्भव होला र ? प्रविधिमा सबैको ज्ञान, सबैको पहँुच पु¥याउन नसकिने अवस्था छ । त्यसो भए यसको विकल्प चाहिँ के त ? सरकारले चाँडो भन्दा चाँडो यसको विकल्प खोज्नु पर्ने देखिन्छ न कि भविष्यका कर्णधारको भविष्य अझ पर नधकेलियोस् । अनि एस ई.ई. दिन तयारी भएका विद्यार्थीहरुको मनोविज्ञानलाई मध्यनजर गरियोस् । के होला ? कसो होला ? पढेको पनि सबै बिर्सियो अब हाम्रो भविष्य अन्यौल भयो भन्ने चिन्ता छ उनीहरुमा । अरु कक्षाका विद्यार्थीहरुको परीक्षा अगाडि सारेको जस्तै अगाडि सारिदिएको भएपनि त हुन्थ्यो भन्नेको कमि पनि छैन यहाँ । हुन त त्यसै गरेको भए पनि हुन्थ्यो कि मेरो मनमा पनि यो अनुत्तरित प्रश्न उब्जिने गर्दछ ।

चैत्र महिनाको शुल्क अनि बैशाख महिनाको भर्ना शुल्क देखि लिएर नयाँ शैक्षिक शत्रको सुरुवातिमा हुने गरेको त्योे चहल पहल सँम्झदा बिरानो लाग्न थालिसक्यो । त्यस संगसंगै कतिपय नीजि विद्यालयहरुको घरभाडा रकम अनि बैंकलाई तिर्नु पर्ने किस्ताले छटपटाहट सुरु भएको छ । निरन्तरको लकडाउन, बिश्वमा दैनिक मरिरहेका मानव, सरकारले के गर्ने कसो गर्ने भन्ने बोटो नपाईरहेको यो अवस्थामा नीजि क्षेत्रका व्यवसायीहरुलाई समेत मध्यनजर गरेर राहतका प्याकेज नल्याउने हो भने यहाँ नीजि क्षेत्रका व्यवसायीहरु डिप्रेसनको सिकार हुने अवस्था देखिन्छ । आफ्नो लगानी गरेर सरकारलाई कर तिर्दै आएका नागरिकलाई पनि सरकारले अरु नागरिक सरह त्यस्तै खालका राहत प्याकेज ल्याउन जरुरी छ । यहाँ त दाल चामल बाँड्नुलाई मात्र राहत सम्झेर बाँडिरहेको छ सरकारले । हिजो राहत बाड्नको लागि तम्तयार भएको एउटा बर्ग फेरी आज आँफै राहतको अपेक्षा गर्न थालेको अवस्था देखिन्छ ।
अब कोभिड १९ अर्थात कोरोना भाइरसका कारण भएको लकडाउन अझ थपिने निश्चित छ त्यसले गर्दा हरेक क्षेत्र प्रभावित भइरहेको यो बेलामा सरकारको तर्फबाट प्रस्तुत नीति तथा कार्यक्रममा पनि अहिलेको महामारीलाई उच्चप्राथमिकता दिएको पाईएन । सरकार अभिभावक हो त्यसैले सबै आफ्ना नागरिकको रक्षा सरकारले गर्नुपर्छ । यस्तो बिषम परिस्थीतिमा कसैलाई काखा र कसैलाई पाखा गर्न पाइदैन । तसर्थ आजका दिनमा समस्त विद्यार्थीहरु कोभिड १९ को कहरसंगै अन्यौलता भित्र पनि सुन्दर भविष्यको खोजिमा रहेका छन् ।

प्रतिक्रिया