कोरोना, यन्त्रमानव र हाम्रो ऋषिसभ्यता -पूर्णानन्द ओझा , डोटी

विश्वमा महामारीका रूपमा आफूलाई परिचित गराएको कोरोनाको जानकारीमूलक व्याख्या, विश्लेषण सम्बन्धित विज्ञहरूबाट हुँदै आएको छ । विज्ञानको चरम विकास भएको मानिएका मुलुकहरूमा यस्ता महामारीको पनि सँगसँगै विकास हुनुले आजको यो विकास र विनाशका बीचको दुरी साँघुरिएको हो भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । साँच्चिकै स्वस्थकर खानपान तथा जीवनशैली नअपनाए यस्तै महामारीका कारण प्रलय बेहोर्नुपर्ने अवस्था बाहेक अरु हामीसँग केही विकल्प बाँकी नरहने कुरा सत्यसाबित भएको छ । सामान्य साबुनपानीले हात धुँदा त्यसको प्रभावबाट बच्न सकिने भनिएको भाइरसको अगाडि तेस्रो ग्रहमा बस्ती बसाल्न खोज्नेहरू पनि नतमस्तक छन् । यस्तो अवस्था कसरी सिर्जना भयो भन्नेतिर ध्यान दिनुभन्दा पनि यसलाई राजनैतिक अवसरका रूपमा लिनेहरूको पनि कमी छैन र हामी यन्त्रमानिसभन्दा अरु केही बन्न सकेका छैनौँ । यस्तो भयावह अवस्था सिर्जना हुन नदिन हाम्रो पूर्वीय ऋषिसभ्यताले सिकाएको प्राकृतिक जीवनशैली, खानपान, रहनसहनको खोज र सदुपयोग गर्नुपर्ने बेला आएको छ । यिनै कुरालाई उजागर गर्ने मनसायले यसको सङ्क्षिप्त जानकारी प्रस्तुत आलेखमा गर्न खोजिएको छ ।

पूर्वीय सभ्यताले सभ्य र स्वस्थ जीवनयापनका लागि मुख्यरूपमा तीन कुराहरूलाई बढी ध्यान दिएको देखिन्छ

१.सरसफाइ तथा स्वास्थ्य ः पूर्वीय सभ्यताका हाम्रा शास्त्रहरूले शुद्धताको सबैभन्दा धेरै गुणगान गरेका छन् । त्यो माटो पानी (साबुन पानी)ले गरिने बाह्य शुद्धि होस् वा मनोबल बढाउने हेतुले गरिएको भाव शुद्धि नै किन नहोस् । सुतेर उठ्दा सुन्दर बस्तुको दर्शन, शौचालयबाट आउँदा, खानेकुरा खाँदा र खाइसकेपछि, कुनै फोहर पदार्थ वा तज्जन्य पदार्थको सम्पर्कमा रहेको व्यक्तिलाई छुँदा, बाहिरबाट भित्रिँदा आदि हरेकबखत गर्ने सरसफाइ विधिहरू यसका उदाहरण हुन् । एउटा उदाहरणका लागि – एका लिङ्गे गुदे तिस्रस्तथा वामकरे दश । उभयोः सप्त दातव्या मृदः शुद्धिमभीप्सता ।। अर्थात् शौचपछि एकपटक जननेन्द्रिय, तीनपटक गुदद्वार, दशपटक वायाँ हात, सातपटक दुबै हातगोडा राम्ररी सफा गर्ने कुरा मनुस्मृतिमा गरिएको छ । त्यसैगरी आचारेन्दु भन्ने अर्को ग्रन्थमा – कुर्याद् द्वादश गण्डूषान् पुरीषोत्सर्जने द्विजः । मूत्रे चत्वार एव स्युर्भोजनान्ते तु षोडश ।। अर्थात् दीर्घ शौचपछि बाह्रपटक, लघुशौचपछि चारपटक र भोजन गरिसकेपछि सोह्रपटक मुखभित्रको सफाइ गर्नुपर्दछ भनेर सिकाइएको छ । स्नानशुद्धिबिना त कुनै पनि कार्य सार्थक नहुने कुरा बताइएको छ । वैदिकदेखि अन्य तमाम पौराणिक ग्रन्थकारहरूले पनि यसरी नै शरीरको सरसफाइको महत्ता दर्शाएका छन् ।
स्वास्थ्य जीवनको महत्वपूर्ण विषय भएको कुरा बताउँदै चरकसंसितामा–धर्मार्थकाममोक्षाणामारोग्यं मूलमुत्तमम् । रोगास्तस्यापहर्तारः श्रेयसो जीवितस्य च ।। अर्थात् धर्मानुष्ठान, अर्थोपार्जन, कुनै कामना वा सन्तानोत्पत्ति र यी कुराहरूबाट मुक्ति यस्ता सबै पुरुषार्थ सिद्धिका लागि पनि स्वस्थ रहनु पर्दछ, भनी स्वस्थ शरीरको बारेमा बताइएको छ । स्वास्थ्योपचारका क्षेत्रमा हाम्रा ऋषिको आदर्शलाई मान्नेहो भने हामीसँग भरपूर औषधीय गुण भएका जडीबुटिहरू छन् जसलाई आयुर्वेदले द्रव्यगुण मान्दछ । हाम्रै प्राचीन भान्साभित्र एकाउन्नभन्दा बढी प्रकारका मसलाहरू प्रयोग भएको र अहिले त्यो घट्दै जिरा र मेथीमा सीमित भएको जानकारहरू बताउँछन् । त्यस्ता स्वास्थ्यवद्र्धक जडीबुटिको प्रयोग घट्दै गयो र त्यो गुणको पनि हामीले फाइदा लिन सकेनौ । आयुर्वेद, चरकसंहितालगायतका यस्ता अभ्यासहरूले दीर्घजीवन प्रदान गरेको कुरा सुन्दा हामीले अचम्ममा परेर मात्रै टार्यौँ । पश्चिमा देशहरूले यसको महत्ता बुझ्दै दिनानुदिन हर्बल थेरापिका कुरा प्रयोगमा ल्याउँदै फेरि हामीलाई नै सिकाउनथालेको देख्न पाइन्छ । शरीर र मनमस्तिष्कलाई स्वस्थ राख्न शिवसभ्यताबाट पतञ्जलि, घेरण्ड, कपिलमुनि, मत्स्येन्द्रनाथ, गोरखनाथ हुँदै हालसम्म केही जीवन्त रहेको योगाभ्यासलाई पनि सर्वसुलभ बनाउनेतिर सबैको ध्यान जानु जरुरी छ ।

स्वच्छ, ताजा र शाकाहारजन्य खानेकुरा नै खानुपर्ने कुरा हरेकपटक भनिएको छ, जुन बढी क्षारयुक्त खानेकुराको प्रयोगले हाम्रो शरीरविकास र बुद्धिविकासका लागिमात्र नभएर रोगप्रतिरोधात्मक क्षमताको लागि पनि अत्यन्त उपयोगीसिद्ध छ । शाकाहारीमा भिटामिन बी.टुवेल्बको कमी हुन्छ भनेर आफ्ना उत्पादन बढाउने पैसामुखी अध्ययनको प्रतिशोध गर्दै प्राकृतिक चिकित्सा क्षेत्रका विशेषज्ञ डा.हरिप्रसाद पोखरेल भन्नुहुन्छ – यो त सानो आन्द्रामा ब्याक्टेरियाहरूले आफै उत्पादन गर्नसक्छन् जसले गर्दा शरीर पुष्ट हुन सक्दछ । अध्ययनले मांसाहार त्यसको समाधान हो पनि भन्दैन । यसको प्रचार सहीढङ्गले हुन नसकेकोमा डा.पोखरेलजस्ता अध्येताको यस्तो गम्भीर विषयमा चासो र गुनासो हुनु स्वभाविक नै देखिन्छ । यो त सामान्य उदाहरणमात्र हो, यस्ता तमाम उदाहरणहरू हाम्रो अगाडि छन् ।

हामीले आफ्नो स्वास्थ्यका लागि र हाम्रै पुर्खाको आदर्शलाई यसै भूमिमा प्राप्त हुने प्राकृतिक औषधीजन्य कुराहरूको खोज, संरक्षण र प्रयोग गर्न सकेका छैनौँ । जसले गर्दा हामीले हाम्रा मूल्यवान् वस्तुहरू गुमाएर अरूद्वारा चालित यन्त्रमानव बनेका छौँ । फलस्वरुप चौरासी वर्षसम्म शाकहारी रहेर स्वस्थ जीवन बाँचेका वृद्धा आमाबुवालाई रुघाखोकी लाग्दा अण्डा र तज्जन्य खानेकुरा मात्र खान सल्लाह दिइन्छ । हामीकहाँ प्राप्त हुने औषधीको नत कुनै लेखाजोखा छ, नत अनुसन्धान नै । छ त केवल आयात गरिएको अण्डा, मासुजन्य कुरा र फास्टफुडको घोकाइएको पाठमात्र । जसले अहिलेको जस्तो महामारी फैलाउन अहम् भूमिका खेल्नेकुरा विज्ञसंस्थाको ठम्याइ छ ।

२.नैतिकशिक्षा तथा सिकाइ ः हाम्रो सभ्यताका शिक्षाले परा र अपरा विद्या भनेर अर्थोपार्जन र व्यवहारिक गरी दुई किसिममा विद्यालाई विद्या ठानेको छ । विपदि धैर्यम् भनेर विपदमा पनि धैर्यधारण गर्न सिकाइएको छ । के गर्ने, के नगर्ने भन्ने कुराको स्वविवेक प्रयोग पनि यस शिक्षाले सिकाउने सामथ्र्य राख्दछ । एतिमात्र नभएर कुन कार्य कतिखेर सम्पन्न गर्ने, सोको कस्तो फल प्राप्त हुन्छ र पछिको वातावरणको अवस्था कस्तो हुनसक्छ भन्ने पूर्वानुमान पनि वेदको अङ्गका रूपमा रहेको खगोल विज्ञान अर्थात् ज्योतिष शास्त्रले गर्न सक्दछ । नारदसंहिता र बृहत्संहितामा भएको परिधावी नाम गरेको सम्वत्सर र शनि राजा भएको मानिएको वर्षमा रोगको महामारीको प्रकोपसम्बन्धी जानकारी यसको ज्वलन्त उदाहरण हो । यो शिक्षा अहिले फेसबुकमा फेस हेर्नेको आदर्शमा आएर खुम्चिएको छ । यस्ता विषयका विशेषज्ञसँग छलफल गरेर यसलाई सबल बनाउने नीति अपनाउन सके विसङ्गतिप्रति सजक हुन र आफ्नै पहिचानको संरक्षण गर्न सकिन्थ्यो । ठूलाप्रति गर्ने आदर र सानाप्रतिको ममता जस्ता आचरण यी र यस्ता शिक्षामा पाउन सकिन्छ ।

३.स्वावलम्बी, सेवा र समताको भावना ः यस सभ्यताले आफैमा निर्भर रहनुपर्ने कुरा पनि सिकाएको छ । परभाग्योपजीवी अर्थात् अर्काको भाग्यमा जीवनयापन गर्नेले दुःख भोग्नुपर्ने कुरामा सचेत गराउँदै धनानि जीवितञ्चैव परार्थे प्राज्ञ उत्सृजेत् अर्थात् बुद्धिमानले कमाइ र आफ्नो जीवन परोपकारमा लाउनु, दरिद्रान् भर अर्थात् गरिबहरूको पालनपोषण गर्नु, धनिक् धनं मा प्रयच्छ अर्थात् धनीहरूलाई नदिनू भनेर सधैँ समाजको विकास गर्ने कुरा सिकाइएको छ । यसरी नै सर्वे भवन्तु सुखिनः अनि वसुधैव कुटुम्बकम् आदि समताको लागि तत्पर रहने जस्ता थुप्रै व्यवहारिक तथा प्रगतिशील कुराहरू हाम्रै सभ्यताका चिनारी हुन् जसले अहिलेको जस्तो परिथितिसँग पनि जुध्न सिकाउँछन् ।
अत्यन्त वैज्ञानिक र सर्वप्राचीन सभ्यताका यी र यस्ता तमाम नेपाली पहिचानहरूको हामीले संरक्षण गर्नु छ जुन् हाम्रा आफ्नै निधि हुन् र यसले फेरि एकपटक प्रकृति र मानवरक्षा गर्नेतिर विश्वको ध्यान केन्द्रित गराउन सक्नेछ ।
(प्रतिक्रियाका लागि – [email protected])

( पूर्णानन्द ओझा, साबिक गडसेरा गा.वि.स. हाल – वाल्मीकी विद्यापीठ, काठमाडौँ । ) सम्पर्क – 9851193826 , 9848420485

प्रतिक्रिया