लगातार दोस्रो दिन घट्यो नेप्से, परिसूचक २७२४ बिन्दुमा

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार पनि सेयर बजारमा गिरावट देखिएको छ। लगातार दोस्रो दिन ओरालो लागेको बजारमा नेप्से परिसूचक ४ अंकले घटेर २,७२४.०३ बिन्दुमा कायम भएको छ।

अघिल्लो कारोबार दिन ८.१४ अंकले घटेको नेप्से आज पनि नकारात्मक रहँदा अधिकांश उपसमूह दबाबमा देखिएका छन्।

आज म्युचुअल फन्ड, निर्जीवन बीमा, अन्य तथा व्यापार समूहका उपसूचकमा वृद्धि भएको छ भने बाँकी सबै समूहका उपसूचक घटेका छन्।

बजार परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। आज ३४२ कम्पनीका ९८ लाख ५६ हजार ५२५ कित्ता सेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भएका छन्।

यसअघि बिहीबार ३५० कम्पनीका ९२ लाख ३१ हजार २१६ कित्ता सेयर ३ अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज ९२ कम्पनीको सेयर मूल्य बढेको छ भने १६७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समग्र बजार घटेको दिन पनि फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १३.३१ प्रतिशतले बढेको छ।

यता कालिन्चोक हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य १०.६६ प्रतिशतले घटेको छ।

प्रतिक्रिया