कोरोना सन्त्रास र हाम्रो दायित्व

लेखक-टोलराज उपाध्याय

सरकार र आम नागरिक बिच रहेको दोहोरो बुझाइः सरकार भन्छ, नागरिकको सुरक्षाको लागि र भोलीको भयावह स्थितीको बारेमा आंकलन गरी बेलैमा सजगता अपनाएको हो । नागरिक संरक्षणकै खातिर स्वतन्त्र आवागमनमा रोक लगाइएको हो लकडाउन गरिएको हो । यसलाइ निरन्तरता दिइएको हो ।

नागरिक भन्छन् (खासगरि असंगठीत श्रम क्षेत्रमा कार्यरत मजदुर) काम बन्द भयो, कार्यस्थलमा केहि दिनको लागि रसद पानी थियो त्यो सकियो, अब म जहाँ छु त्यहा खाना पानीको समेत कुनै प्रवन्ध छैन र जसले यहाँ यो कामको लागि ल्याएको हो उ पनि सम्पर्कबाट बिच्छेद भयो । हामीलाइ छोडेर कतै गयो । मौजुदा सामल पनि सकियो । कामको ठेगान पनि भएन अब जहाँबाट केहि कमाउन भनि यहाँ आइयो त्यो अनिश्चित भएपछि म हप्तौ लगाइ हिडेरै भएपनि घर नगएर कहाँ जाँउ । हिजोको दिन लडेर ल्याएको संविधानमा रहेको स्वतन्त्रताको हकमा देशभित्रै रहेका मेरा बृद्द बाबुआमा, परिवार र छोराछोरी समेत भेट्न मैले नपाउने भन्ने त छैन नै होला । यदि मरिने नै हो भनेपनि मेरो आफ्नै घरमा पुगेर मरौं भन्न पनि नपाउनु यत्तिमै मेरो अपराध हुने र मलाइ अपराधी करार गरी कठघरामा लैजाने हो भने लैजाउ ।

हो अलग अलग राखेर दुबै पक्षका माग र चासो हेर्ने हो भने शतप्रतिसत जायजै देखिएलान । तर हाललाइ यी समस्या अलग अलग राखेर हेरेर समाधान निस्कदैंन । समय तपाइ हामिले सोचेजस्तो सहज रहेन । बिश्वका सम्पन्न देशहरु समेत यो महामारीको निर्मम चपेटाबाट गुज्रिरहेकाछन् । तिनले समेत हालसम्म कुनै निकास निकाल्न सकिरहेका छैनन् । तुलनात्मक रुपमा संयन्त्र, स्रोत, क्षमता, तौरतरिका लगायतका बिषयहरुमा अन्य बिकसीत देशभन्दा हामी कमजोर छौ यो यथार्थ हो । तर सरकार आमनागरिकको अभिभावक हो । उस्ले देश, काल, परिस्थिति बिश्लेषण गर्न पनि सक्नुपर्छ । उ सगँ आमनागरिकको तुलनामा राज्यशक्ति, श्रोत र अधिकारले सज्जित छ । सोको अतिउत्तम प्रयोग गर्दै संकटलाइ पार लगाउन नर्मल समयभन्दा बढि उ खट्नैपर्छ, नागरिकलाइ संरक्षण, आश्वास्त र सुरक्षित राख्न कटिबद्द हुनैपर्छ । तर आम नागरिक त्यसमा पनि मजदुर दिउसो पसिना निकाल्ने र बेलुका सोहि कमाइ खाने, केहि बचत गरेर एकाध बर्षमा घर गइ परिवारको खाना, नाना र दुखबिमारको गर्जो टार्नकै लागि खटिइ रहने बर्गले देश बिदेशका कुरा त्यती बुझ्दैन । बुझ्नैपर्छ भनेर जबरजस्त गर्नु पनि युक्तिसंगत हुँदैन । सरकार आम नागरिकको “माइबाप” हो र हुनुपर्दछ । अतः पहिला नागरिकको आँखाबाट सरकारलाइ हेरौं त्यो अकिंचनको रोदन सुनौं सहजिकरण गरौं अनि सरकारका सिमाहरु तर्फ बिचार गरौंला यसरी पहिलो नम्मरमा त नागरिककै धारणा ठिक हो र दोस्रो नम्मरमा मात्र सरकारको धारणा ठिक हो भन्ने निष्कर्षमा पुग्न सकिन्छ । तसर्थ यो जटिलता र अफ्ट्यारो परिस्थिती आम सर्वसाधारण नागरिकले बुझ्न र सचेत बर्गले बुझाउन र सो अनुरुप कार्यब्यबहार गर्न सबै क्षेत्रबाट पहल गर्नुपर्ने देखिन आँउछ । सबैभन्दा पहिलो महत्वपूर्ण बिषय यही हो ।

चीनको बुहानवाट ३१ डिसेम्बर २०१९ मा शुरु भइ यूरोप अमेरिका लगायत विश्वका करिव सबै देशहरुमा प्रभाव छोडेको कोरोना भाइरस (कोभिड-19) को सहज उपचार हालसम्म पत्ता लाग्न नसक्नु नै प्रमुख जोखिमको बिषय हो । सामाजिक दूरि कायम गर्नु नै हालसम्मको सबैभन्दा प्रभावकारी उपायको रुपमा विश्व स्वास्थ्य संगठनले समेत सुझाइ रहदा त्यस विपरीत हामी जानसक्ने अवस्था तत्काल रहेन ।

बिश्वब्यापी समस्याबाट हामी भाग्न सक्ने अवस्था त रहेन नै । अब मुकाबिला गर्नुको बिकल्प नहुँदा हाम्रो तयारी तथा बुझाइहरु कता र कहाँ केन्द्रित गर्नुपर्ने हो । सो बिषयमा भने ब्यापक चनाखो हुनैपर्ने देखिन्छ । संकटको बेलामा नै हो तपाइको सुझबुझ, उत्कृठता र क्षमता प्रदर्शन गर्ने । तपाइ जाँचिने र त्यागको उदाहरण दिने । यसमा सरकार र सरकार बाहेकका सबै पक्षहरु सहभागी हुनुपर्दछ । हाल समस्यासगँ जुध्दै गर्दा अर्थतन्त्रका बारेमा बहस गरेर भाबी दिन खराव छन भनि समय ब्यतित नगरौं । सुरुमा त बाच्ने कसरी भन्ने बिषयका मात्र ध्यान केन्द्रित गरौं बाच्दैं गरे न नाच्न पाइएला यदि जिबन नै रहेन भने अर्थतन्त्रका बारेमा तपाइको चिन्तनले के नै अर्थ राख्ला र । संक्रमण फैलिने दर बढिरहँदा सजगता र सचेतता अपनाइ यसको साङ्लोमा ब्रेक लगाउनु नै प्रथम कार्यका रुपमा लिइनुपर्छ यसतर्फ चिन्तनलाइ केन्द्रित गरौं ।

सशक्त आमसन्चारका माध्यमहरु छन् । निर्वाचित प्रदेश तथा स्थानीय सरकारहरु छन् । नागरिक समाज, निजी क्षेत्र, राष्टिय र अन्तराष्टिय गैर सरकारी संघ संस्थाहरु, सरकार इतरका दलहरु, देशका बौद्दिक जगत र आम नागरिकको साथ र सहयोग लिएर देशको मौजुदा क्षमताको अधिकतम परिचालन सरकारले गर्ने हो । सरकार र उसको संयन्त्र कर्मचारीतन्त्रले नागरिकको दैनिक जनजिवनको सहजता सुनिश्चित गर्ने सन्दर्भमा कत्तिपनि ढिला नगरी ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । यो मुलतः देशभित्रकै अफ्ट्यारोमा परेका नागरिकहरुको आवागमन सहजिकरण, दक्षिण सिमामा रहेका नागरिकहरु र बिभिन्न देशहरुमा जोखिममा रहेका नेपालीहरुको उद्दार, देशभित्रै तरकारी तथा खाद्दान्न आपुर्ति ब्यवस्थापन, क्वारेन्टिन ब्यवस्थापन र मनोसामाजिक परामर्श लगायत हुनसक्छन् । करिव एक महिना लकडाउनको अवधि भैसकेको र अझै लम्बिने संकेत देखिइरहदा नागरिक त्रास र अपेक्षा बढेर जानु स्वभाविक हो । हो शक्ति आफैमा निरंकुश र भ्रष्ट हुन्छ र पूर्ण शक्तिले ले थप भ्रष्ट र निरंकुश बनाउन सक्छ भन्ने भनाइलाइ गलत सावित गराउन तर्फ सरकारका संयन्त्रहरु र कामहरु क्रियाशिल होउन । कुरा भन्दा आफ्नो काम मार्फत नागरिक आश्वास्त पार्न सरकार र उसका संयन्त्रहरु लागि रहुन । सरकार इतरका पक्षबाट खवरदारी सँगै हौसला, सहयोग र सुझाव पनि दिदै अघि बढौं । केवल गल्ति र कमि कमजोरी मात्र कोट्याइ संकटको बेला एक अर्कालाइ दोष दिएर आफु उम्कने प्रबृत्तिले कुनै पनि पक्षको महानता देखिदैन दोस्रो महत्वपूर्ण बिषय यो हो ।

अर्कोतर्फ सरकारले सबै दलहरु र तिनका कार्यकर्ताहरु, सरकारका संयन्त्रहरु, नागरिक समाज, मेडियाकर्मी, निजी क्षेत्रलाइ कसरी हातमा हात मिलाइ अघि बढ्ने हो सोको वातावरण तयार गर्न ध्यान पूर्याउने । बिभिन्न जिल्लाहरु तथा स्थानीय सरकारहरुको पहलमा भएको “फुडबैक”, आवतजावत ब्यबस्थापन, क्वारेन्टिन निर्माण, कोरोना लक्षित अस्पताल निर्माण, मनोसामाजिक परामर्शको अवधारणालाइ मूर्तरुप दिइ लक्षित बर्गमा सेवा सुबिधाहरु पूर्याउने । मापदण्ड तयार गरि पारदर्शि किसीमले कमजोर तथा नाजुक स्थितीबाट गुज्रदै गरेका परिवार र ब्यक्तिको पहिचान तथा लगत तयार गर्ने । विभिन्न तौर तरिकाबाट सहयोग प्राप्त गरि समन्यायिक बितरण गर्ने । सहयोगि हातहरु मार्फत संकलन भइरहेका सहयोगहरुको पारदर्शि ब्यवस्थापन र निस्वार्थ बितरणको चाँजोपाजो मिलाउने लगायतका कार्यलाइ तिब्रताका साथ अघि बढाउन जरुरी देखिन्छ ।

लकडाउनको अवस्थामा उल्लेखित कामका सन्दर्भमा कतिपय प्रदेश तथा स्थानीय सरकारहरुको क्रियाशिलता लोभलाग्दो पनि देखिन्छ । हो तपाइको नागरिकसँगको दुरी अझै घटाउने एक महत्वपूर्ण समय पनि यहि घडि हो । नागरिकका दुखमा जति तपाइ नजिक भएर काम गर्नुभयो तपाइ प्रतिको बिश्वास पनि आमनागरिकलाइ त्यही गतिमा बढ्ने हो । स्थानिय तवरमै अस्थायी अस्पताल निर्माण देखि क्वारेन्टाइन निर्माण, आँकडा संकलन र गौडागौडामा पहरेदारीमा खटेको देख्दा नागरिकको आशा र भरोशा यहि हो भनि नजिकको सरकारलाइ जनताले स्यावासी दिएका छन् । यसको दिर्घकालीन महत्वबोध गरौ र आफ्ना कार्यहरुमा थप तदारुकता देखाउ । जुन तेस्रो महत्वपूर्ण बिषय हो ।

सेवा प्रदानको क्रममा अघिल्लो लाइनमा रहि काममा खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाइ कसरी सुरक्षित र उत्प्रेरीत पारीरहने । तथा ति बर्ग र क्षेत्रलाइ कामका बारेमा गौरव गर्न सक्ने बातावरणको सृजना गर्ने । यसतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ किनकी अरु कसैले नीति बनाउलान, मापदण्ड बनाउलान, सहजिकरण गर्लान तर कार्यन्वयनको अग्रपङ्तिमा रहि खट्ने त फेरी पनि यिनै हुन् । यो चौथो महत्वपूर्ण बिषय हो ।
अन्त्यमा समस्या परिसक्यो यसबाट भाग्न सक्ने अवस्था छैन । भागेर जाने ठाउँ पनि पृथ्विमा कहि कतै हालसम्म देखिएको छैन । अतः जहाँ हुनुहुन्छ जे जति जस्तो सहयोग गर्न सक्नुहुन्छ त्यो गरेर सामाजिक दायित्व निर्वाह गर्ने र सामाजिक एकतालाइ थप बलियो बनाउने पो होकि

प्रतिक्रिया