कोरोनाको जोखिमबाट बच्न साइकल चलाउँदै प्रचण्ड

कोरोनाको जोखिमबाट बच्न साइकल चलाउँदै प्रचण्ड
काठमाडौं । नेपालमा कोरोना सङ्क्रमण भित्रिइसकेको त छैन । तर, त्रास डढेलोझैं सल्किइरहेको छ ।

कोरोनाको जोखिम बढ्दै जाँदा काठमाडौंबाट बाहिरिनेको संख्या ह्वात्तै बढेको छ । लामो दूरीका सार्वजनिक यातायात सोमबार चल्दैनन् । आइतरबारसम्म अढाइ लाख बढी नागरिकले काठमाडौं छाडिसकेको तथ्याङ्क छ ।

कोरोनाको त्रासले जनजीवन अस्तव्यस्त बनिरहेका बेला शीर्ष नेताहरू पनि ‘होम क्वारेन्टाइन’मा बसेका छन् । यद्यपि, उनीहरू चिकित्सकको निगरानीमा भने छैनन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साइकल चलाएर रोग प्रतिरोधात्मक क्षमता बढाइरहेका छन् ।

प्रचण्डले खुमलटारस्थिर घरकै पार्किङ्मा साइकल चलाइरहेको फोटो, भिडियो जीवन आचार्यले सार्वजनिक गरेका हुन् । फोटा, भिडियोमा प्रचण्डले पार्किङमा साइक्लिङ गरिरहेका छन् । उनका नाती सँगै खेलिरहेको देखिन्छ । बिहानीको समयमा टेबलटेनिस खेल्ने प्रचण्ड कोरोनाभाइरस (कोभिड–१९)को त्रास बढेपछि साइकल गुडाउन थालेको उनको सचिवालयले जनाएको छ ।

त्यसो त पत्नी सीता दाहाल लामो समयदेखि अनौठो रोगबाट प्रताडित छिन् । हिँडडुल गर्न समेत सहारा चाहिने सीतालाई क्वारेन्टाइनकै मौका पारेर प्रचण्डले समय दिन भ्याएको सचिवालयका सदस्यहरु बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओली दैनिक कामकाज चलाउनुपर्ने भएकाले दौडधूप, भेटघाटमै छन् । उनले आइतबारमात्रै उपप्रधानमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्रीलगायतलाई भेटे । आवश्यक निर्देशन पनि दिए । कोरोना रोकथाम, नियन्त्रणका लागि भइरहेका प्रयासबारे चासो राखे । सोमबार पनि उनले क्याबिनेट बैठक आह्वान गरेका छन् ।

सत्तारूढ दलका अरू नेता पनि घरबाहिर निस्किएका छैनन् । मन्त्रीहरूले पनि अत्यावश्यकबाहेकका भेटघाट बन्द गरेको बताएका छन् ।

प्रतिक्रिया