नेप्सेमा झिनो सुधार, कारोबार ३ अर्बमा सीमित

काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्से अन्तिम समयमा ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इन्डेक्स १.३९ अंकले बढेको छ। त्यस्तै, फ्लोट इन्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४८ अंकले बढेका छन्।

नेप्से सामान्य बढे पनि कारोबार रकम भने घटेको छ। मंगलबार ४ अर्ब ११ करोड रुपैयाँबराबरको सेयर कारोबार भएकोमा बुधबार ३४८ स्टकको ४३ हजार ९९० पटकको कारोबारमा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार रुपैयाँबराबरको ८७ लाख १ हजार कित्ता सेयर किनबेच भएको छ।

यस दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य ४५ रुपैयाँले बढेर ३४५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कम्पनी मंगलबार नेप्सेमा सूचीकृत भएको थियो भने बुधबारदेखि नियमित कारोबार सुरु भएको हो।

त्यस्तै, इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ५.५ प्रतिशतभन्दा बढीले बढेको छ। यता, कारोबारमा आएको १२ प्रतिशत आईसीएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य सर्वाधिक १५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। कम्पनीको ३१ करोड ६० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, सेन्ट्रल फाइनान्सको करिब साढे २२ करोड रुपैयाँ र सोलु हाइड्रोपावरको २२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ। यस दिन लगानी उपसमूहको परिसूचक सर्वाधिक २.२१ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकिङ, वित्त, होटल तथा पर्यटन र म्युचुअल फन्ड उपसमूहको परिसूचक पनि सामान्य अंकले बढेका छन्। बाँकी उपसमूह भने घटेका छन्।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय