काठमाडौं—बजारमा तरलताको अभाव भए पछि व्याजदर वृद्धि गरेर बैंकले निक्षेप बढाएका छन् ।
बैंकहरुले पछिल्लो दुई साताको अवधिमा कुल ४२ खर्ब १८ अर्ब निक्षेप संलकन गरेका छन् । सरकारी ढुकुटीको पैसा खर्च वृद्धि भएको छ भने बैंकहरुले पनि व्याजदर बढाए पछि निक्षेप वृद्धि भएको हो । तरलताको अभाव भएपछि ब्याजदर बढाएका बैंकहरुमा दशै नजिकिएसंगै निक्षेप बढ्न थालेको छ ।
चालु आर्थिक वर्षको असोज महिनाको दोस्रो साता मात्र बैंकहरुले ३९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले उत्पादन मूलक क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्य अनुसार पूँजी, कर्जा तथा निक्षेप अनुपातको सट्टा कर्जा तथा निक्षेप अनुपातको नयाँ व्यवस्था ग¥यो । जसले गर्दा बैंकहरुमा तरलताको समस्या देखिन थाल्यो । त्यसका लागि आसोज महिना देखि नयाँ निक्षेप तान्नका लागि बैंकहरुले ब्याजदर पनि बढाए । तर, बैंकहरुले ब्याजदर बढाएको भएपनि तरलताको समस्या भने सहज हुन सकेको छैन ।
बैंकहरुले तरलता व्यवस्थापन लागि दैनिक रुपमा नेपाल राष्ट्र बैंक मार्फत ओभर नाइट रिपो, स्थायी तरलता सुविधा, रिपो मार्फत पैसा ल्याएका छन् । तरलता समस्या जटिल बन्दै गएपछि बैंकहरुको अन्तर बैंक कारोबार नै हुन सकेको छैन । अन्तर बैंक कारोबारमा दिने भन्दा पनि सबै संस्था लिन मात्र खोज्ने भएपछि अन्तर बैंक कारोबार हुन नसकेको हो । चालु आर्थिक वर्षको तेस्रो महिना अर्थात असोजको पहिलो सातामा बैंकहरुमा विदेशी मुद्राको निक्षेप १२ अर्ब रुपैयाँले बढेको थियो । तर, असोजको दोस्रो महिनामा विदेशी मुद्राको निक्षेप ४ अर्बले घटेको छ । असोज महिनाको पहिलो सातामा बैंकहरुवाट ३ अर्ब रुपैयाँ स्वदेशी मुद्रा बाहिरिएको थियो ।
चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुबाट करिब ७८ अर्बले निक्षेप घटेको थियो । यो अवधिमा पनि बैंकहरुले ४३ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका थिए । भदौमा बैंकहरुबाट बाहिर गएको करिब ७८ अर्ब रुपैयाँ केही रकम फिर्ता भएको देखिन्छ । भदौ महिनामा बैंकहरुले करिब ४८ अर्ब रुपैयाँ निक्षेप बढाएका थिए ।